दार्चुला । सरकारले नेपालमा सबै अन्तराष्ट्रिय विमानस्थलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष (२०८३/८४)को नीति तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सबै अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने बताउनुभएको हो ।
उहाँले विमानस्थलाई पूर्ण रूपमा सञ्चालनमा ल्याएर प्रतिस्पर्धी हवाई सेवा सञ्चालन गर्ने बताउनुभयो । अहिले पोखरा तथा भैरहवा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । सरकारले आगामी आर्थिक वर्षबाट यी विमानस्थलहरु पूर्ण रूपमा सञ्चालनमा ल्याउने महत्वकांक्षी योजना अगाडी सारेको हो ।
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानमा थप अन्तर्राष्ट्रिय वायुसेवालाई आर्कषण गर्न कुटनीतिक पहल गर्ने उहाँले बताउनुभयो । सरकारले नागरिक उड्डयन क्षेत्रलाई पुनःसंरचना गर्ने भएको छ । उड्डयन क्षेत्रमा निजी क्षेत्रलाई समावेश गरि अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डको कार्यान्यवन गर्ने उहाँले बताउनुभयो ।
पर्यटक भिषा सेवालाई पूर्ण अनलाईन गर्ने, अन्तराष्ट्रिय विमानस्थलमा ई–गेट प्रणाली जडान गर्ने उहाँले बताउनुभयो । अध्यागमन बिन्दुबाट नै पर्यटकिय अनुमति र सेवालाई एकीकृत गर्नेगरी एकद्वार डिजिटल प्रणाली लागू गर्ने उहाँले उल्लेख गर्नुभयो ।
पर्वतीय पर्यटनको सुरक्षा तथा खोज, उद्धार प्रणालीलाई आधुनिक बनाउने, भिजिट नेपाल २०८५ को पूर्वतयारीको लागि पर्यटक आगमनको लागि प्रतिपर्यटक खर्चवृद्धि र बसाई समय बढाउनेगरि प्रवर्द्धन गर्ने उहाँले बताउनुभयो । नेपाललाई देवो भूमी अभियान सञ्चालन गर्ने पनि सरकारले घोषणा गरेको छ ।




