दार्चुला । विपक्षी दलहरूको बहिष्कार र अवरोधबीच सरकारको नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित भएको छ ।
सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम हिजो पारित गरिएको हो । नीति तथा कार्यक्रममाथि छलफलका लागि अस्ति बुधबार संसदमा पेस भएको थियो । प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिबिना नीति तथा कार्यक्रममाथि छलफल नगर्ने भनेपछि अस्ति बुधबार पटक पटक सदन अवरुद्ध भएको थियो । तर हिजो भने विपक्षी दलका सांसदहरूले छलफलमा भाग लिए ।
छलफलपछि नीति, कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीबाटै दिनुपर्ने भन्दै विपक्षी दलहरूले सदनमा अवरोध गरेका थिए । सभामुख डोलप्रसाद अर्यालले प्रतिपक्षी दलहरूको अवरोध र बहिष्कारबीच प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जवाफ दिन समय दिनुभएको थियो ।
त्यसपछि एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले बैठक बहिष्कार गरे भने कांग्रेसले उठेर विरोध गरेको थियो । विरोधकाबीच नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । नीति तथा कार्यक्रममाथि ३५ वटा संशोधन प्रस्ताव पेस भएका थिए । सबै प्रस्ताव बहुमतले अस्वीकृत भएका छन् ।
राष्ट्रिय सभाले पनि बहुमतले नीति तथा कार्यक्रम पारित गरेको छ । सरकारको नीति तथा कार्यक्रममा कांग्रेस, एमाले, नेकपाका सांसदहरूले एकल र संयुक्त संशोधनहरू राखेका थिए ।
राष्ट्रियसभामा सत्तारुढ रास्वपाको प्रतिनिधित्व नै नभए पनि अरू दलहरूले सरकारको नीति तथा कार्यक्रम पारित गरेका हुन् ।




