दार्चुला । दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने चीनसँगको सीमा नाका तिङ्कर–छ्यालेकमा सशस्त्र प्रहरी बल पुनः खटिएको छ । बाक्लो हिउँ जमेका कारण गत कात्तिकको पहिलो सातादेखि छाङरु झरेको सशस्त्र प्रहरीको टोली वैशाख २८ गतेदेखि तिङ्करस्थित छ्यालेक बोर्डर आउट पोस्ट (बिओपी) मा पुनः परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म मुख्यालय छाङरुका सशस्त्र प्रहरी नायब उपरीक्षक फणीन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सात महिनापछि सुरक्षाविहीन बनेको तिङ्कर–छ्यालेक क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षक जयबहादुर महराको नेतृत्वमा २१ जना सशस्त्र प्रहरी खटिएका हुन् ।
कात्तिकको पहिलो सातामा सशस्त्र प्रहरी टोली छाङरु झरे पनि बेला–बेलामा उक्त क्षेत्रमा गस्ती गर्ने गरिएको शाहीले बताउनुभयो । तर, बाह्रै महिना सुरक्षाकर्मी बस्न सक्ने पर्याप्त भौतिक पूर्वाधारको अभावमा हिउँदका समयमा तिङ्कर नाका सुरक्षाकर्मीविहीन हुने गरेको छ ।
स्थानीयवासीले सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न तथा बाह्य हस्तक्षेप रोक्न राज्यले उचित भौतिक पूर्वाधार निर्माण गरी वर्षभरि नै सुरक्षाकर्मी परिचालन गर्नुपर्ने माग गरेका छन् । छाङरुदेखि तिङ्कर गाउँसम्मको दूरी करिब १२ किलोमिटर रहेको छ ।




