दार्चुला । सम्पाल माध्यमिक विद्यालय सुन्सेराका प्रधानाध्यापक बलदेवसिंह धामीको मृत्यु प्रकरणलाई लिएर दार्चुलाको शैक्षिक क्षेत्र आन्दोलित बनेको छ । प्रधानाध्यापक संघ नेपाल (PAN) दार्चुला र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) दार्चुलाले छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।
प्रधानाध्यापक संघ नेपाल (PAN) दार्चुलाले प्रमुख जिल्ला अधिकारीमार्फत बुझाएको ज्ञापनपत्रमा स्वर्गीय धामीको मृत्युले सम्पूर्ण शिक्षा क्षेत्र स्तब्ध, आक्रोशित र शोकाकुल बनेको उल्लेख गरिएको छ । धामीले मृत्यु अघि सार्वजनिक गरेको सुसाइड नोटमा आफूलाई निरन्तर मानसिक यातना, चरित्रहत्या, अपमान, धम्की तथा असह्य दबाब दिइएको उल्लेख रहेको भन्दै संघले घटनाको उच्चस्तरीय, निष्पक्ष र पारदर्शी छानबिन गर्न माग गरेको छ ।
संघले सुसाइड नोटमा उल्लेख भएका व्यक्तिमाथि तत्काल अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाउन, घटनालाई दबाउने वा अनुसन्धान प्रभावित पार्ने प्रयास गर्नेमाथि कारबाही गर्न तथा शिक्षक र प्रधानाध्यापकलाई राजनीतिक हस्तक्षेप र मानसिक दबाबबाट सुरक्षित वातावरण सुनिश्चित गर्न माग गरेको छ ।
त्यस्तै, शिक्षा क्षेत्रमा पुर्याएको योगदानको सम्मानस्वरूप स्वर्गीय धामीलाई शहीद घोषणा गर्न, परिवारलाई उचित राहत तथा दीर्घकालीन सुरक्षा दिन समेत माग गरिएको छ ।
PAN दार्चुलाले जिल्लाका नौवटै स्थानीय तहमा सम्पूर्ण शैक्षिक गतिविधि बन्द गर्दै ‘पेन डाउन’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । प्रशासनले घटनालाई गम्भीरतापूर्वक नलिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ ।
यस्तै, प्याब्सन दार्चुलाले पनि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । प्याब्सनले एक इमानदार शिक्षाकर्मीलाई मानसिक दबाब र असह्य परिस्थितिमा पुर्याइएको सार्वजनिक तथ्यले शिक्षा क्षेत्र स्तब्ध बनेको उल्लेख गर्दै निष्पक्ष छानबिन र दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गरेको छ ।
प्याब्सन दार्चुलाले पनि जेठ ६ गते जिल्लाभरका निजी तथा आवासीय विद्यालयमा पठनपाठन बन्द गर्दै ‘पेन डाउन’ कार्यक्रममार्फत PAN दार्चुलासँग ऐक्यबद्धता जनाउने जनाएको छ ।
शिक्षकको आत्मसम्मान र सुरक्षामाथि हुने कुनै पनि अन्यायविरुद्ध सम्पूर्ण शैक्षिक समुदाय एकजुट भएर उभिने प्रतिबद्धता दुवै संस्थाले व्यक्त गरेका छन् ।




