दार्चुला — सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको गोकुलेश्वर बहुमुखी क्याम्पसमा विज्ञान सङ्कायअन्तर्गत अध्ययनरत विद्यार्थीहरू लामो समयदेखि गणित विषयको नियमित पठनपाठनबाट वञ्चित भएका छन् । विश्वविद्यालयले गणित विषयका उपप्राध्यापक मदन बहादुर चन्दलाई क्याम्पसमा काज फिर्ता गर्ने निर्णय गरे पनि हालसम्म चन्द क्याम्पसमा उपस्थित नभएको जनाइएको छ ।

विद्यार्थी तथा क्याम्पस प्रशासनका अनुसार गणित विषयका उपप्राध्यापक चन्द २०८० फागुन १ गतेदेखि विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायअन्तर्गत महेन्द्रनगरस्थित सामान्य विज्ञान केन्द्रीय विभागमा काज सरुवामा गएपछि गोकुलेश्वर बहुमुखी क्याम्पसमा गणित विषयको नियमित अध्यापन प्रभावित बनेको हो ।

गणित शिक्षक अभावका कारण विज्ञान सङ्कायका विद्यार्थीहरूले पर्याप्त कक्षा नपाई परीक्षा दिनुपरेको गुनासो गरेका छन् । विद्यार्थी ओमकार जोशीले नियमित पठनपाठन नहुँदा शैक्षिक उपलब्धि कमजोर बन्दै गएको बताउनुभयो । “छ–छ महिनामा परीक्षा हुन्छ, तर विषय गत शिक्षक विनै राम्रोसँग नपढीकनै परीक्षा दिनुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो ।

शिक्षक व्यवस्थापनको माग गर्दै विद्यार्थीहरूले २०८२ सालको पुस, माघ र फागुन महिनामा क्याम्पस प्रशासनमा तालाबन्दीसमेत गरेका थिए । त्यसपछि क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, शिक्षक तथा विद्यार्थीहरूको टोली विश्वविद्यालयको केन्द्रीय कार्यालय पुगेको थियो ।

विद्यार्थीहरूको दबाबपछि विश्वविद्यालय कार्यकारी परिषद्ले २०८२ चैत २३ गते उपप्राध्यापक चन्दलाई पुनः गोकुलेश्वर बहुमुखी क्याम्पसमा काज फिर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार कार्यालयले २०८२ चैत ३० गते पत्र जारी गर्दै २०८३ वैशाख १५ गतेदेखि लागू हुने गरी उहाँलाई क्याम्पसमा काज फिर्ता गरिएको जानकारी दिएको थियो ।

रजिष्ट्रार प्राध्यापक डा. विनोद लेखकद्वारा हस्ताक्षरित पत्रमा चन्दलाई गोकुलेश्वर बहुमुखी क्याम्पसमा हाजिर हुन निर्देशन दिइएको उल्लेख छ ।

तर काज फिर्ताको निर्णयपछि पनि उपप्राध्यापक चन्द क्याम्पसमा उपस्थित नभएको भन्दै गोकुलेश्वर बहुमुखी क्याम्पसले पुनः विश्वविद्यालयलाई जानकारी गराएको छ । क्याम्पस प्रमुख परमल सिंह महराद्वारा २०८३ जेठ ५ गते उपकुलपतिलाई पठाइएको पत्रमा काज फिर्ता भएका शिक्षक हालसम्म उपस्थित नभएकाले विज्ञान सङ्कायतर्फ गणित विषयको पठनपाठन प्रभावित भएको उल्लेख गरिएको छ । पत्रमार्फत क्याम्पसले तत्काल गणित शिक्षकको व्यवस्थापन गरिदिन विश्वविद्यालयसँग अनुरोध गरेको छ ।

क्याम्पसका सहायक क्याम्पस प्रमुख कविराज जोशीले शिक्षक लामो समयसम्म क्याम्पसमा नफर्किंदा समस्या जटिल बनेको बताउनुभयो। उहाँले क्याम्पस प्रशासनले पटक–पटक विश्वविद्यालयसँग समन्वय गरे पनि समस्या समाधान हुन नसकेको जानकारी दिनुभयो ।

यता केही विद्यार्थी अध्ययनलाई निरन्तरता दिन अन्य क्याम्पसमा स्थानान्तरणसमेत भएको जनाइएको छ । विद्यार्थी तथा क्याम्पस प्रशासनले नियमित पठनपाठन सुनिश्चित गर्न विश्वविद्यालय प्रशासनले शीघ्र पहल गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?