दार्चुला । प्रदेशिक एवम् स्थानीय तहको सडक निर्माण तथा सुधार कार्यक्रमको आइतबार शुभारम्भ गरिएको छ ।
स्थानीय तहलाई प्रादेशिक राजधानी एवम् राष्ट्रिय सडक सञ्जालसँग जोड्ने उदेश्यले उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
शुभारम्भ कार्यक्रममा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले वर्तमान सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको दीर्घकालीन योजनालाई साकार पार्न सरकारले पन्ध्रौं आयोजनालाई रुपान्तरणकारी आयोजनाको रुपमा अघि सरेको बताउनु भएको छ ।
केन्द्रदेखि प्रदेश–स्थानीय तहसम्म पक्की सडक सञ्जाल जोड्ने काम सरकारले गर्न लागेको मन्त्री ठगुन्नाले जानकारी दिनुभयो । ३ सय ९२ स्थानीय तहबाट पक्की सडकको माग गरी पठाएको र त्यसमा छानबिन भइरहेको उहाँले बताउनुभयो । पक्की सडक नपुगेको दार्चुलाका तीन सहित २ सय १० स्थानीय तहमा पक्की सडक राष्ट्रिय सडक सञ्जालसँग जोड्ने काम अब हुने उहाँले बताउनुभयो ।
स्थानीय तहमा पनि अब पक्की सडक पु¥याउने सरकारले दुई खर्ब रुपियाँ बजेट लाग्ने अनुमान सरकारले गरेको उहाँले बताउनुभयो । स्थानीय तहको लागत साझेदारीमा केन्द्र सरकारले आवश्यक सहयोग गर्नेगरी योजना अगाडि बढाइने उहाँले बताउनुभयो ।
विश्व बैंक र एसियाली विकास बैंकसँग आवश्यक बजेटका लागि समन्वय भइरहेको मन्त्री ठगुन्नाले जानकारी दिनुभयो ।
पक्की सडक सञ्जाल स्थानीय तहमा पुगेमा बजार पहुँच अभिबृद्धि हुने, ढुवानी सेवा लागत कम हुने, नागरिकलाई सहज हुने विश्वास सरकारको छ । त्यसले अर्थतन्त्रमा समेत सकारातमक प्रभाव पार्ने हुनाले योजना महत्वपूर्ण रहेको मन्त्री ठगुन्नाले बताउनुभयो ।





प्रतिक्रिया