दार्चुला । राष्ट्रिय जनगणना २०७८ का लागि दार्चुलामा पनि जनगणना कार्यालयको स्थापना गरिएको छ ।
चैत्र १ गते देखि कार्यालयको स्थापना गरि जनगणना सम्बन्धी कामकाजहरु भइरहेको तथ्याङ्क अधिकृत पदमराज पाण्डेले जानकारी दिनुभयो । तथ्याङ्क कार्यालयकै कर्मचारीहरुले जनगणना कार्यालयमा पनि काम गरिरहेका छन् ।
दार्चुलामा दुई चरणमा जनगणना गर्ने तयारी भइरहेको छ । पहिलो चरणमा २०७८ बैशाख २५ गते देखि जेठ १५ गते सम्म सुपरिबेक्षकले लगत सुचिकरण गर्नेछन् । दोस्रो चरणमा जेठ २५ गते देखि असार ८ गते सम्म गणकले घर–घरमा गएर तथ्याङ्क संकलन गर्ने तथ्याङ्क अधिकृत पाण्डेले बताउनुभयो ।
दार्चुलामा राष्ट्रिय जनगणनाका लागि १९० जना गणक तथा ६१ जना सुपरिबेक्षक खटाइदै छ । जनगणनाका लागि बैशाख १ गते देखि मालिकार्जुन गाउँपालिकाको शंकरपुर पस्ती र शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा स्थानीय जनगणना कार्यालयको स्थापना गरिनेछ ।
स्थानीय जनगणना कार्यालयमा इकालाका जनगणना अधिकारी सहित तीन जनाको कर्मचारी जनशक्ती ब्यवस्थापन गरिने उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना समितिको गठन गर्ने तयारी पनि भइरहेको छ । मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औं जनगणना, २०७८ देशभर सञ्चालन हुँदैछ ।





प्रतिक्रिया