भारतले एकतर्फी तटबन्ध बनाएकोमा नेता बडूको आपत्ती, सरकारको आलोचना

दार्चुला । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले भारतले दार्चुलाको सदरमुकाम खलङ्गाको पारिपट्टी महाकाली नदीमा एकतर्फी तटबन्ध बनाइ रहे पनि सरकार बेखबर रहेको भन्दै आपत्ती जनाउनु भएको छ ।

प्रतिनिधिसभाको बैठकमा सांसद बडूले भारतले बनाएको तटबन्धका कारण हजारौँ नेपालीको जीवन जोखिममा परेको र दार्चुलासहितका ठाउँ खतरामा रहेको बताउनुभयो । भारतले यति ठूलो बाँध बनाउँदा सरकार बेखबर छ, आफ्नै देशका नागरिक खतरामा पर्ने गरी काम भइरहँदा पनि नबोल्ने सरकारले कसको सेवा गरेको छ ? बडूले प्रश्न गर्नुभयो ।

उहाँले सरकारले राष्ट्रवादका ठूला कुरा गर्ने तर भारतले बनाएको एकतर्फी बाँध रोक्न कुरासमेत नगरेको बताउनुभयो । पहिले पनि भारतले धौलीगङ्गा बाँध बनाउँदा नेपालले बोल्न नसेकेको र अहिले धौलीगङ्गा बाँधका कारण बर्सेनि नेपालीले ज्यान गुमाएको नेता बडूको भनाई छ ।

भारततर्फ एकतर्फी तटबन्ध निर्माणले त्यस क्षेत्रका नेपालका अत्यन्तै उर्बर जमिन डुबानमा पर्ने जनाउँदै नेता बडूले नेपालको जमिन र सार्वभौमसत्तासँग जोडिएका विषयमा आजसम्म मन्त्रिपरिषदमा कुरा नउठेको र किन सरकार मौन रहेको भनी प्रश्न गर्नुभयो ।

‘हामीले आफ्नो भूमि जोगाउन भारतले बनाउँदै गरेको बाँधको निर्माण तत्काल रोक्नुपर्छ, दुवै देशबीच विगतमा भएको सहमति कार्यान्वयन हुनुपर्छ, प्रमुख जिल्ला अधिकारी यस सम्बन्धमा सरकारको आदेश पर्खिरहेको छ’ उहाँले भन्नुभयो ।

देशको सार्वभौमसत्ता र अखण्डतासँग जोडिएको यस विषयमा उठाइएको प्रश्नको जवाफ प्रतिनिधिसभाको अर्को बैठकमा आओस् भनी उहाँले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

दार्चुला सदरमुकामसहितको भू-भाग जोखिममा पर्ने गरेर नेपाली भूमिमै भारतले तटबन्ध बनाइरहेको विषयमा काम रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुला र परराष्ट मन्त्रालयमार्फत भारत सरकारलाई पत्राचार भएपनि वेवास्ता गरिएको सरोकारवालाहरुले बताएका छन् ।

यो पनि पढ्नुहोस : महाकाली मिचेर तटबन्ध बनाउदै भारत, प्रशासनको पत्रको वेवास्ता 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?