दार्चुला । मालिकार्जुन गाउँपालिका वडा नम्बर १ का कृषकहरुलाई मौरी घार वितरण गरिएको छ । मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामी र कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकश कुमार पन्तले यहाँका कृषकहरुलाई मेलखेत र भर्तोलामा गोला सहितको मौरी घार वितरण गर्नुभएको हो ।
चालु आर्थिक वर्ष २०७७÷०७८ को मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यक्रम अन्तर्गत मालिकार्जुन गाउँपालिकाले वडा नम्बर १ लाई माहुरी नमुना गाउँ छनौट गरेको थियो । ५० लाख विनियोजित बजेट बाट एक सय कृषकहरुलाई छनौट गरी छ सय मौरी घार प्रवद्र्धन गर्ने कार्यक्रम रहेको छ ।
माहुरी कृषक समन्वय समितिका अध्यक्ष अमर सिह बोहराका अनुसार, पहिलो चरणमा ७१ वटा गोला वितरण गरिएको छ । यस्तै दोस्रो चरणमा ९१ गोला सहितको घार र तेस्रो चरणमा ९६ गोला सहितको घार वितरण गरिएको छ ।
चौथो चरणमा एक सय ३३ गोला सहितको घार वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष बोहराले बताउनुभयो । कार्यक्रम अन्तरगत एक सय ५० वटा खाली घार समेत वितरण गर्ने योजना रहेको छ । माहुरीपालन व्यवसायको प्रसस्त सम्भावना रहेको मालिकार्जुन गाउँपालिका वडा नम्बर १ मा अधिकासं कृषकले व्यवसायिक रुपमै माहुरीपालन गरिरहेका छन् । व्यवसायिक माहुरीपालनबाट यस क्षेत्रका जनताहरुको आयआर्जनमा ठुलो मदत पुग्ने गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामीले विश्वास व्यक्त गर्नुभयो ।
माहुरी घार प्राप्त गरेका कृषकहरु हर्षित भएका छन् । चालु आर्थिक वर्षमा दार्चुला जिल्ला भरी बाट ५२ मेट्रिक टन मह उत्पादन भएको र मालिकार्जुन गाउँपालिका वडा नम्बर १ बाट मात्रै १५ क्वीन्टल मह उत्पादन भएको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाश कुमार पन्तले बताउनुभयो । अगामी वर्षहरुमा व्यवसायिक कृषक र मह उत्पादनमा बृद्धि हुने उहाँको भनाई छ ।










प्रतिक्रिया