दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ झलातीका ४६ वर्षीय गणेशराम पार्कीको हत्या भएको भन्दै परिवारजनले हत्यारा पत्ता लगाइ हत्यारालाई कारवाहीको माग गरेका छन् ।
हत्यारा पत्ता नलागेको भन्दै मृतकका आफन्तले अस्तापलबाट शव उठाउन समेत मानेका छैनन् । गत चैत २४ गते जिल्ला अस्पताल दार्चुलामा पोष्टमार्टमको लागि राखिएको शव उठाउन नमानेको प्रहरीले जनाएको छ ।
यहि चैत ८ गते गाउँ नजिकैको दुई मिटर उचाइको भीरबाट फालेर हत्या गरेको भन्दै परिवारजनले स्थानीय भास्करराम पार्कीको नाममा किटानी जाहेरी दिएका छन् । प्रहरीले हत्याबारे प्रहरी निरीक्षक भास्कर चन्द नेतृत्वको टोली अनुसन्धानको लागि खटाएको छ ।
तर परिवारले दोषि पत्ता लगाएर मुद्धा दर्ता नगरेसम्म अस्पतालबाट शव नउठाउने चेतावनी दिएका छन् । गाउँकै खानेपानी योजना समितिका सदस्य तथा काम गर्दै आउनुभएका मेरो बुवाको घाटि थिचेर हत्या गरिएको रहेछ, मृतकका छोरा महेशराम पार्कीले भन्नुभयो, बुवाको हत्यारा पत्ता नलागेसम्म म शव अस्तापलबाट उठाउँदैन् ।
पार्कीले भन्नुभयो, भारतको रुद्रपुर अस्पताल पुर्याउँदा घाटि थिचेको जानकारी मिल्यो । पूरै घाटिका नसा दबाएको रहेछ । चैत ९ गते उपचारको लागि धनगढी र भारतका रुद्रपुर अस्पताल लगिएको थियो । तर कहि पनि उपचार हुन नसकि चैत २३ गते दार्चुला ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । घटना रहस्यपूर्ण रहेको भन्दै परिवारले किटानी जाहेरी दिएको बताएका छन् ।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।





प्रतिक्रिया