दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–२ रातामाटामा निर्माण भएको सोलार पम्पीङ खानेपानी योजनाको उद्घाटन गरिएको छ ।
लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशीले सोमबार रातामाटा सोलार पम्पीङ खानेपानी योजनाको उद्घाटन गर्नुभएको हो । चार हजार ६७५ वाट क्षमताको सौर्य उर्जाको सहायताले कैनोडाको नङरौँ मुलबाट ३६५ मिटर उचाइसम्म खानेपानी पुर्याइएको छ । बैकल्पीक उर्जा प्रवद्र्धन केन्द्र, लेकम गाउँपालिका र स्थानीय उपभोक्ता समितिको साझेदारीमा लिप्ट खानेपानी योजना सञ्चालन भएपछि सुख्खाग्रस्त क्षेत्र रातामाटा र कैनोडामा खानेपानी पुर्याउन सफल भइएको उपभोक्ता समिति अध्यक्ष बिष्णुदत्त जोशीले जानकारी दिनुभयो ।
बैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रको १५ लाख, लेकम गाउँपालिकाको १७ लाख ६५ हजार लगानी र स्थानीयको सात लाख ५० हजार बराबरको जनश्रमदानबाट खानेपानी योजना निर्माण गरिएको अध्यक्ष जोशीले बताउनुभयो । चालु आर्थिक वर्षमा तीन वटा सामुदायिक धारा निर्माण गरिने उपभोक्ता समितिले जनाएको छ । वर्षौदेखि खानेपानी समस्या झेल्दै आएका रातामाटा र कैनोडाका स्थानीयले रातामाटा सोलार पम्पीङ खानेपानी योजनाको उद्घाटन भएपछि खुसी व्यक्त गरेका छन् ।
यो खानेपानी योजनाबाट लेकम गाउँपालिकाको केन्द्र रातामाटा, हुनैनाथ माबि, कालिशैन प्राबि, स्थानीय पशलहरु, छ घरधुरी रातामाटाका पाठक परिवार र कैनोडा बस्तीका ४५ घरधुरी गरि झण्डै ६५ परिवार लाभाबिंत हुने स्थानीय शिवराज जोशीले बताउनुभयो । चालु आर्थिक वर्षको पुष महिनादेखि सोलार पम्पीङ खानेपानी योजनाको काम सुरु भएको थियो ।
गाउँमा खानेपानी पुगेपछि निकै खुसी लागेको वडासदस्य एबं स्थानीय पदमराज जोशीले बताउनुभयो । हुनैनाथ माबि रातामाटाका प्रधानाद्यापक श्यामराज जोशी लगायत स्थानीयको अनुरोधमा तत्कालिन मन्त्री जयदेब जोशीको कार्यकालमा सिफारिस भएको यो खानेपानी योजना अहिले आएर कार्यान्वयन भएको उपभोक्ता समिति अध्यक्ष जोशीले बताउनुभयो ।






प्रतिक्रिया