दार्चुला–तिकंर सडकको निरीक्षण गर्न तीन मन्त्री दार्चुला आउदै

दार्चुला । महाकाली करिडोर अन्तरगत निर्माणाधिन दार्चुला–तिकंर सडकको कार्यप्रगति निरीक्षण गर्न नेपाल सरकारका तीन मन्त्री दार्चुला आउदै हुनुहुन्छ ।

सडक निरीक्षणका लागि भौतिक योजना तथा पुर्वाधार मन्त्री बसन्त कुमार नेम्वाङ, उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना सहितको टोली आइतबार विहान दार्चुला आइपुग्ने भएको हो ।

दार्चुला–तिकंर सडकको कार्यप्रगति बारे नेपाली सेनाको हेलिकोप्टरमार्फत निरीक्षण गर्ने र दार्चुला सदरमुकाम खलंगामा अन्तरक्रिया कार्यक्रम गर्ने योजना रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाका स्वकिय सचिव दौलतसिंह ठगुन्नाले जानकारी दिनुभयो । सडकको कार्यप्रगति लगायत विषयमा वैशाख ५ गते अर्थात भोलि विहान ११ बजे महाकाली नगरपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने तयारी रहेको छ ।

२०६४।०६५ सालबाट निर्माण सुरु गरिएको दार्चुला तिंकर सडक निर्माणले १२ वर्ष बढि हुँदा पनि लक्ष्य तथा जनअपेक्षा अनुसार गति लिन नसकेको गुनासो कायमै छ । यो सडकमा अहिलेसम्म दार्चुला सदरमुकाम खलंगादेखि सुन्सेरासम्म ४४ किलोमिटर मात्रै ट्र्याक खुलाइएको छ ।

गत वर्ष २०७७ मा दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एबं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाको पहल तथा नेपाल सरकारको निर्णय अनुसार दार्चुला तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । अहिले सडक निर्माणको लागि नेपाली सेनाको निर्माण दल व्यास गाउँपालिकाको सुनसेरा र दुम्लीङमा क्याम्प राखेर निर्माण कार्य सुरु गर्ने तयारी गरिरहेको छ । यसअघि नै ठेक्का व्यवस्थापन भइसकेको खलंगादेखि घाँटीबगरसम्मको सडक दार्चुला तिकंर सडक आयोजनाले नै निर्माण गरिरहेको छ ।

सरकारले महाकाली करिडोर अन्तर्गत दार्चुला–तिंकर सडक खण्डको १३४ किलोमिटर मध्ये ठेक्का हुन बाँकी घाँटीबगर देखि तिंकरसम्मको ८७ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिएपछि तिकंरसम्म चाँडै सडक विस्तार हुनेमा व्यासवासी आसाबादी बनेका छन् । चालु आर्थिक वर्षमा दार्चुला तिकंर सडक निर्माणका लागि चालुतर्फ ३२ करोड बजेट विनियोजन गरिएको थियो । महाकाली करिडोरलाई बहुवर्षे ठेक्कामा लगेर छिटो निर्माण सम्पन्न गर्न झण्डै ९३ करोड बजेटको बोलपत्र आह्वान गरिएको छ । दार्चुला तिंकर सडक खण्डको खलंगादेखि सुनसेरासम्म सडक कालोपत्रको लागि पहल भइरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले बताउनुभयो । पाँच वर्षभित्र मालिकार्जुन गाउँपालिकाको सलेती देखि खलंगा र खलंगादेखि सुन्सेरासम्म झण्डै ६० किलोमिटर सडक कालोपत्रे गर्न छ अर्व बढी बजेटको स्टमेट सहितको प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको मन्त्री ठगुन्नाका स्वकिय सचिव दौलतसिंह ठगुन्नाले बताउनुभयो ।

चालु आर्थिक वर्षमा कालोपत्रेका लागि बहुवर्षे ठेक्का आह्वान गर्ने तयारी स्वरुप ९५ करोड बजेट माग गरिएको उहाँको भनाई छ । नेकपा एमालेका नेता गणेशसिंह ठगुन्नाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय पुर्वाधार विभाग अन्तरगत रहेको ग्रामीण सडक सञ्जाल सुधार आयोजना (सिआरआइपी) मार्फत दोस्रो चरणमा कार्यान्वयन गर्नका लागि दार्चुलाको भर्तोला–उकु–लाली–सेरा सडकको डिपिआर समेत तयार भइरहेको मन्त्री ठगुन्नाले बताउनुभयो ।

भर्तोला–जौलविवि–सेरा सडक निर्माण सम्पन्न गर्नका लागि शुक्रबार मात्रै तीन करोड बजेट समेत निकासा भएको छ । संघीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएका अधुरा आयोजना सम्पन्न गर्ने उद्धेश्य अन्तरगत चालु आर्थिक वर्षमा भर्तोला–जोलजिबी–सेरा सडकका लागि तीन करोड बजेट निकासा भएको हो ।

गत चैत २० गतेको नेपाल सरकार मन्त्री स्तरिय निर्णयबाट सुदूरपश्चिम प्रदेशमा निकासा गरिएको सशर्त अनुदानतर्फको बजेटबाट तीन करोड रुपैया भर्तोला–जोलजिबी–सेरा सडकमा निकासा गरिएको अर्थ मन्त्रालय को बजेट तथा कार्यक्रम महाशाखाले जनाएको छ ।

अर्थ मन्त्रालयले बजेट निकासा भएको भन्दै महालेखा नियन्त्रण कार्यालयलाई पत्र लेखेको छ भने उक्त पत्रको बोधार्थ महालेखा परीक्षकको कार्यालय काठमाण्डौँ, सुदूरपश्चिम प्रदेशको भौतिक पुर्वाधार मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयलाई समेत पठाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाका स्वकिय सचिव दौलतसिह ठगुन्नाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?