दार्चुला । दार्चुलामा कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत दोस्रो मात्रा आजबाट लगाईदै छ ।
माघ १४ गतदेखि २४ गते र फागुन २ गतेदेखि ११ गतेसम्म पहिलो चरणमा खोप लगाएकास्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार लगायतलाई खोपको दोश्रो मात्रा लगाईन लागिएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।
जिल्लाका ९ वटै स्थानीय तहका खोप केन्द्रबाट मंगलबार (आज)बाट ११ गतेसम्म कोरोना विरुद्धको खोपको दोस्रो मात्रा लगाइने उहाँले बताउनुभयो ।
कोरोना विरुद्धको खोप अभियान अन्तर्गत खोपको दोश्रो मात्रा लगाउनका लागि सुदुरपश्चिम प्रदेश सरकारबाट दार्चुलाका लागि २ हजार ३ सय डोज खोप दार्चुला पठाएको थियोे ।
यस्तै जिल्लामा यस अघि लगाउन बाकी रहेको ५ सय डोज खोप मौजाद रहेको सूचना अधिकारी कार्कीले बताउनुभयो ।
कोरोना विरुद्धको खोप अभियानअन्तर्गत जिल्लाको महाकाली नगरपालिकाको जिल्ला अस्पतालको खोप केन्द्रबाट खोप लगाइने छ ।
यस्तै शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर अस्पताल, मालिकार्जुन गाउँपालिकाको शंकरपुर स्वास्थ्य चौकी पस्ती, लेकम गाउँपालिकाको खरकडा स्वास्थ्य चौकी, व्याँस गाउँपालिकाको स्वास्थ्य चौकी सुनसेरा, दुहुँ गाउँपालिकाको स्वस्थ्य चौकी हिकिला, अपिहिमाल गाउँपालिकाको स्वास्थ्य चौकी खण्डेश्वरी, मार्मा गाउँपालिकाको स्वास्थ्य चौकी लटिनाथ र नौगाड गाउँपालिकाको होपरीगाड स्वास्थ्य चौकीबाट कोरोना विरुद्धको दोस्रो मात्राको खोप लगाइने छ ।
दार्चुलामा पहिलो चरणमा दुई हजार सय जनाले कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । कोरोना विरुद्धको खोप सुरक्षित भएकाले तोकिएको खोप केन्द्रमा गई ढुक्क भएर खोपको दोश्रो मात्रा लगाउन स्वास्थ्यकर्मीहरुले आग्रह समेत गरेका छन् ।





प्रतिक्रिया