दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ८ मा रहेको पस्ती स्वास्थ्य चौकीमा एक्सरे र इसिजी सेवा सञ्चालन भएको छ ।
पस्ती स्वास्थ्य चौकीमा आज एक कार्यक्रमका विच एक्सरे र इसिजी मेसिन जडान गरि सेवा सुचारु गरिएको हो । मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन कार्यक्रममा मालिकार्जुन गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गणेश सिंह धामीको छातीको एक्सरे गरि सेवा सुचारु गरिएको छ ।
मालिकार्जुन गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्रबद्र्धन गर्नको लागि चालु आर्थिक वर्षमा एक करोड २० लाख रुपैया बजेट विनियोन गरेको थियो । जसमा २ वटा एम्बुलेन्स खरिद, अतिआवश्यक स्वास्थ्य सम्बन्धी उपकरण र औषधी खरिद, स्वास्थ्य कर्मचारी तथा महिला स्वास्थ्य स्वयमसेविका भत्ता वितरण लगायतका क्षेत्रमा खर्च गरिने मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीले जानकारी दिनुभयो । सोहि बजेटबाट पस्ती स्वास्थ्य चौकीमा एक्सरे र इसिजी मेसिन खरिद गरि सेवा सुरु गरिएको उहाँले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा अध्यक्ष धामी सहित वडा नम्बर २ का वडा अध्यक्ष गणेश सिंह धामी, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नर सिंह सामन्त, स्वास्थ्य शाखा प्रमुख गुणराज ओझा लगायत स्वास्थ्यकर्मी र स्थानीयको सहभागीता रहेको मालिकार्जुनबाट स्थानीय एकेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।


यसैबिच मालिकार्जुन गाउँपालिका आजै एक कार्यक्रमका बिच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ ।
गाउँपालिका अध्यक्ष धामीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा गाउँपालिका भित्रका खोप लगाउने उमेर समुहका सबै बालबालिकालाई खोप लगाई सकिएकोले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो ।





प्रतिक्रिया