गोकुलेश्वर–झरकडा–पनेबाँज सडक स्तरोन्नती गरिदै, तीन वर्षभित्र कालोपत्रे

दार्चुला । दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वरदेखि शैल्यशिखर नगरपालिका–६ पनेबाँज जोड्ने गोकुलेश्वर–झरकडा–पनेबाँज सडक स्तरोन्नतीको काम भइरहेको छ । चालु आर्थिक वर्ष २०७७/०७८ को मङ्सिर १ गतेदेखि स्तरोन्नतीको काम शुरु भएको यो सडकमा अगामी तीन वर्षभित्र कालोपत्रे गरिसक्ने सम्झौता गरिएको छ ।

गोकुलेश्वरदेखि पनेबाँजसम्मको १८ किलोमिटर सडक २०८० सालभित्र कालोपत्रे गरिसक्ने लक्ष्यका साथ काम भइरहेको इन्जिनियर एमडी मोहबुल राईले जानकारी दिनुभयो । शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरदेखि पनेबाँज जोड्ने सडक कालोपत्रे भएपछि शैल्यशिखरको वडा नम्बर ६, ७, ८ र ९ का गोकुलेश्वर, देवल, तल्चौरा, मल्चौरा, झरकडा, बोहोरीगाउँ, बिराली पोखरा, बन्तोली, भौरभिटा, पनेबाज लगायत झण्डै एक दर्जन वस्तीका नागरिकले गाउँबाटै सहज यातायात सेवा पाउने छन् । अहिले यो सडकमा ग्याबीन जाली लगाउने, मेसनरी वाल निर्माण गर्ने, व्याक कटिङ गर्ने, ग्रेड मिलाउने लगायत स्टकचरको काम भइरहेको इन्जिनियर राईले बताउनुभयो ।

गोकुलेश्वर–झरकडा–पनेबाँज सडक स्तरोन्नतीको लागि चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले ३८ करोड बजेट विनियोजन गरेको छ । केश कन्सटक्सनले निर्माणको जिम्मा पाएको यो सडकमा वडा नम्बर ७ को बन्तोलीसम्म ट्रयाक खुलेको छ । बन्तोलीदेखि वडा नम्बर ६ को सीमानासम्म करिब दुई किलोमिटर सडकमा ट्रयाक खोल्न बाँकी छ । सडकमा ट्रयाक खोल्ने, ग्याबिन, मेसनरी वाल, स्टक्चर निर्माण गर्ने र ग्रेड मिलाउने काम सम्पन्न भएपछि नाली निर्माणको काम गरिने निर्माण व्यवसायीले जनाएको छ । दुई वर्ष भित्र सडकमा भौतिक संरचना निर्माण र स्तरोन्नतीको काम सकेर कालोपत्रेको काम शुरु गरिने इन्जिनियर राईले बताउनुभयो ।

गाउँमा पक्की सडक निर्माणको काम शुरु भएपछि स्थानीय हर्षित भएका छन् । सडक नहुँदा अहिलेसम्म गोकुलेश्वर बजारदेखि गाउँ पुग्न चार घण्टाको ओकालो चढ्नुपर्ने बाध्यता छ, शैल्यशिखर नगरपालिका–७ बन्तोलीका स्थानीय प्रेम जोशीले भन्नुभयो, सडक निर्माणपछि गाउँबाटै गाडीमा यात्रा गर्ने सपना पुरा हुने विस्वास लिएका छौँ । गाउँसम्म यातायात सञ्चालन भएपछि निर्माण र खाद्यान्न सामाग्री ढुवानीमा समेत सहज हुने भएकोले तीब्रताका साथ सडक निर्माण गर्न निर्माण व्यवसायीलाई स्थानीयले अनुरोध गरेका छन् । गाउँमा सडक निर्माणको काम भएपछि स्थानीयले रोजगारी समेत पाएका छन् ।

यस सडकको व्याक कटिङका साथै स्तरोन्नति गर्ने काम समेत तीव्र रूपमा भइरहेको छ । गोकुलेश्वरदेखि झरकडासम्म ९ मिटर चौडा सडक निर्माण भइरहेको इन्जिनियर अश्रब अल्लीले बताउनुभयो । गोकुलेश्वर–झरकडा–पनेबाँज सडक निर्माण कार्य पूरा भएपछि यस क्षेत्रका स्थानीयको आयआर्जनमा परिवर्तन हुने सर्वसाधारणले अपेक्षा गरेका छन् । स्थानीय कोमल जोशीले भन्नुभयो, आजभोलि गाउँ बाहिरबाट आउनेले कति राम्रो विकास भएछ भनेर प्रशंसा गर्न थालेका छन् । गोकुलेश्वर बजारदेखि नजिक भए पनि यो क्षेत्र सडककै कारण धेरै पछाडि परेको उहाँले बताउनुभयो ।

अहिलेसम्म सडक राम्रो नहुँदा वर्षातको समयमा सधै अवरुद्ध हुने गरेको छ । कालोपत्रे भएपछि प्रदेश राजधानीबाट छिमेकी जिल्ला बैतडी हुँदै दार्चुला सदरमुकाम खलंगा पुग्नसमेत यो सडकको दुरी हाल सञ्चालनमा रहेको महाकाली लोकमार्ग भन्दा कम हुन्छ । स्थानीयलाई यसै सडकमार्फत मालिकार्जुन, लटिनाथ लगायत धार्मिक स्थलमा आवतजावत गर्न समेत सहज हुने छ । गाउँ–गाउँमा सडक पुगेपछि दुर्गम भनिएका ठाउँ सुगम बन्ने र बसाइसराईको क्रम पनि रोकिने स्थानीय पुष्पराज जोशीको भनाई छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?