दार्चुलामा चार दिन देखि विद्युत अवरुद्ध, सेवाग्राही समस्यामा

दार्चुला । दार्चुलाको बलाँच सवस्टेशन अन्तरगत राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा अवरुद्ध भएको छ । चार दिन देखि बिजुली नआउदा अन्धकारमा बस्नुपरेको सेवाग्राहीको गुनासो छ ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाका अनुसार चमेलियाबाट ल्याइएको ११ केभी क्षमताको प्रसारण लाइन अवरुद्ध छ । सदरमुकाम खलंगामा बुधबार देखि विद्युत छैन, लाइनमा मर्मतको काम भइरहेको प्राविधिक सुरेश भट्टले बताउनुभयो । रिठाचौपाता लगायत ग्रामीण क्षेत्रमा समेत विद्युत पूर्ण रुपमा अवरुद्ध भएको छ । बलाँच क्षेत्रमा विद्युत अवरुद्ध हुनुको कारण नै पत्ता नलागेकोले बुधबार बेलुकीदेखि शनिबारसम्म मर्मतको काम गर्न नसकिएको उहाँले बताउनुभयो । खलंगा र रिठाचौपाताको लाइनमा फल्ट (अवरोध) पत्ता लगाउने काम भइरहेको प्राविधिकहरुले बताएका छन् ।

बलाँच सवस्टेशन सञ्चालन नहुदा दार्चुलाको अधिकासं क्षेत्रमा विद्युत सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ । चार दिन देखि बिजुली नआउदा मोबाइल चार्ज गर्न समेत समस्या भएको स्थानीय मनोज जोशीले बताउनुभयो । राष्ट्रिय प्रसारण लाइन अवरुद्ध हुदा उज्यालो बाल्न, मोबाइल चार्ज गर्न, खाना पकाउन, विद्युतबाट चल्ने मेसिनहरु चलाउँन पाइएको छैन । विद्युत अभावमा सञ्चारमाध्यम र विद्युतिय पशलहरुको सेवा समेत अवरुद्ध भएको छ । सोलारबाट चलाउन घाम नलागेको र विद्युत अवरुद्ध भएकोले अधिकासं एफ.एम. रेडियोहरुको प्रसारण समेत बन्द रहेको छ ।

विद्युत उत्पादनको धनी जिल्ला दार्चुलाको झण्डै ६० प्रतिषत घरधुरीमा राष्ट्रिय प्रशारणको पहुँच नहुँदा सोलार र टुकीको भरमा सरकारी कार्यालयदेखी व्याक्तिगत कामकाज गर्नुपर्ने बाध्यता रहेको छ । भने विद्युत लाइन विस्तार भएको क्षेत्रमा अनियमित र कम क्षमताको विद्युतका कारण सधै समस्या भोग्नुपरेको छ । दार्चुलामा ३० मेगावाटको चमेलिया जलविद्युतसहित सहायक र ग्रामिण लघुजलविद्युतहरु उत्पादन भएपनि समयमै ग्रामीण विद्युतिकरण नहुदा जिल्लावासीले बिजुलीबत्ती बाल्न पाएका छैनन् । कुल उत्पादनको दुई प्रतिषत विद्युतले जिल्लाभरी झिलिमिली हुने अवस्थामा समयमै ग्रामिण विद्युतिकरण, सवस्टेशन निर्माण र लाइन विस्तारको कार्य सम्पन्न नहुदा जिल्लाका आधा नागरिकले विद्युतको तारपोल समेत देख्न पाएका छैनन् ।

ग्रामिण विद्युतिकरणकालागि हरेक वर्ष करोडौ बजेटमा ठेक्का सम्झौता भएपनि समयमै विद्युत प्राधिकरणले उपकरण उपलब्ध गराउँन नसक्ने, सडक पहुचको अभाबमा ढुवानी समस्या हुने र निर्माण व्यवसायीको लापरवाही र ढिलासुस्तीका कारण विद्युतिकणमा लक्ष्य अनुसारको प्रगति हुन सकेको छैन् । गत वर्षदेखि भारतबाट आयातित विद्युत समेत कटौती गरिएको छ । विद्युत अवरुद्ध भएको लामो समयसम्म मर्मतको काम नभएको भन्दै सेवाग्राही आक्रोशित बनेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?