दार्चुला । भारतबाट फैलिएको नयाँ भेरियेन्ट कोरोना भाइरसले नेपालमा पनि भयावह रूप लिन थालेको छ । त्यसमा पनि सुदूरपश्चिमको स्थिति झन भयावह बनिरहेको छ ।
दार्चुलामा पनि भारतबाट आएका केही मानिसमा कोरोना संक्रमण पुष्टि भईसकेको छ । जिल्लाका भारतसंग जोडिएका सीमा नाकाहरुमा स्वास्थ्य सावधानी अपनाइएको छैन, जिल्ला प्रवेश गरेकाहरु होम क्वारेन्टाइनमा बसेका छैनन । क्वारेन्टाईनमा बसाल्नको लागी स्थानीय तहहरुले अहिले सम्म कुनै योजना बनाएका छैनन् ।
दार्चुलाका सबैजसो स्थानीय तहहरु कोरोना रोकथाम तथा नियन्त्रणको लागी योजना विहिन रहेका छन । कोरोनाको दोस्रो लहर आउनु पुर्व सबैभन्दा बढी कोरोना संक्रमित रहेको जिल्लाको महाकाली नगरपालिकाले कोरोनाको दोस्रो लहरसंग जुध्नको लागी अहिले सम्म कुनै योजना बनाएको छैन । कोरोना रोकथाम र नियन्त्रणको लागी हामी छलफलमा छौ, तयारी गरिहेका छौ, महाकाली नगरपालिकाका नगरप्रमुख हंसराज भट्टले भन्नुभयो । गत सिजनमा कोरोनाको हटस्पटनै बनेको नगरपालिकामा अहिले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागी कुनै योजना नभएको पाईएको छ ।
कोभिड संकट व्यवस्थापन केन्द्र दार्चुलाले सबै स्थानीय तहहरुलाई आइसोलेसनको व्यवस्थापन गर्न आग्रह गरिसकेको छ । नगरपालिकामा त्यसको लागी छलफल चलिरहेको नगर प्रमुख भट्टको भनाई छ । त्यस्तै जिल्लाको शैल्यशिखर नगरपालिकामा पनि गत बर्ष तयार पारिएकै आईसोलेन सेन्टरलाई रिकभर (पुन सञ्चालन) गर्ने तयारी भइरहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बहादुर विष्टले जानकारी दिनुभयो । उहाँले पनि नगरपालिकामा कसरी कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्ने, आइसोलेसन व्यवस्थापन कसरी गर्ने आदिको लागी छिट्टै निर्णय गरिने बताउनुभयो । जिल्लाकै सर्कुलर अनुसार नगरपालिकामा योजना तथा कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौ, विष्टले भन्नुभयो ।
मार्मा गाउँपालिकाले कोरोना अस्थाई अस्पताललाई आईसोलेसन बनाउने निणर्य गरेको छ । गाउँपालिकाले प्रशासनको निर्देशन अनुसार कोरोना अस्थाई अस्पताललाई आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राम कुमार रानाले जानकारी दिनुभयो । नौगाड गाउँपालिकाले भने पहिलेकै ठाउँमा आइसालेन बनाउने तयारी गरिरहेको निमित्त प्रमुख प्रशासकिय अधिकृत पृतम सिंह ठगुन्नाले जानकारी दिनुभयो । लेकम गाउँपालिकाले रातामाटामा रहेको अस्थाई कोरोना अस्पतालमा ५ शैयाको आइसोलेसन तयार गरेको गाउँपालिका अध्यक्ष परमान्नद जोशीले जानकारी दिनुभयो । मालिकार्जुन गाउँपालिकाले पनि त्यसको लागी छलफल भइरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले जानकारी दिनुभयो ।
भारत संग सिमाना जोडिएका जिल्लाका महाकाली नगरपालिका, मालिकार्जून, दुहुँ, व्यास र लेकम गाउँपालिकाका विभिन्न ठाउँबाट भारतबाट नेपालीहरु नेपाल प्रवेश गरिरहेका छन । भारतबाट फर्केर सिधै समुदायमा घुलमिल हुदा कोरोना संक्रमणको जोखिम झन बढ्ने स्वास्थकर्मीको भनाई छ । स्थानीय तहले प्रकृया अगाडि बढाएको भने पनि तयारी भइनसकेको बुझिएको छ ।
लाली सिमाबाट फर्किनेहरुलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्न लेकम गाउँपालिकाले अनुरोध गरेको छ । लालीमा डेल्थ डेस्क सञ्चालन गर्न निर्देशन दिइएको लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशीले बताउनुभयो । भारतका विभिन्न प्रभावित ठाउँबाट नेपाल फर्किएकाहरु पनि स्थानीय तहहरुले क्वारेन्टाईन व्यवस्थापन गर्न नसक्दा सिधै घर जाने गरेका छन । सम्बन्धित निकाय र स्थानीय तहहरुले सीमानाका व्यवस्थापन गर्नुपर्ने स्थानीयहरुको भनाई छ ।
यो पनि पढ्नुहोस : दार्चुलाका शैक्षिक संस्था तत्काल बन्द गरिने, एम्बुलेन्स तयार राख्न अनुरोध





प्रतिक्रिया