दार्चुला । जिल्ला अस्पताल दार्चुलामा ईमरजेन्सी बाहेकका सबै सेवा आइतबारबाट अर्को सूचना नभए सम्मका लागी बन्द गरिएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहका नागरिकहरु कोरोना संक्रमित भई अस्पताल भर्ना हुने बिरामीहरुको संख्या बढ्दै गईरहेको हुँदा कोरोना भाइरस तिब्र रुपमा फैलीरहेको अवस्थालाई ध्यानमा राखी अर्को सूचना जारी नभए सम्मका लागी ईमरजेन्सी बाहेकका सेवा स्थगित गरिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिनुभयो ।
अस्पतालमा ज्वरो आएका बिरामीहरुको परीक्षणका लागी अस्पतालको ईमरजेन्सी वार्ड बाहिर ज्वरो क्लिनिक संचालन गरिएको उहाँले बताउनुभयो । यो अवधीमा कुनै किसिमको स्वास्थ्य सम्बन्धि सल्लाह लिनु परेमा अस्पतालको फोन नम्बर ०९३–४२०३०८ मा सम्पर्क गर्न सार्वजनिक सूचनामार्फत अनुरोध गरिएको छ ।
दार्चुलामा हालसम्म १३ स्वास्थ्यकर्मीसहित ५७ जनामा कोरोनाको नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत एक जना नेपाली सेनाका नायकको शरीरमा अक्सिजनको मात्रा कम भएपछि हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।
कोरोना पोजिटिभ भएका दार्चुलाको व्यास गाउँपालिका घर भएका नेपाली सेनामा कार्यरत ४५ वर्षीय पुरुषको स्वास्थ्य अवस्था दिनानुदिन बिग्रीदै गएपछि आज रेफर गरिएको दार्चुला अस्पतालका सूचना अधिकारी भट्टले बताउनुभयो । उहाँको शरीरमा अहिले अक्सीजनको मात्रा ६२/६३ मात्रै रहेको उहाँले बताउनुभयो ।
दार्चुलामा ज्वरो, रुघाखोकी, स्वास फेर्न गाह्रो भएको तथा खोकी बढ्दै गएका संक्रमितको संख्या बढ्दै गएको छ ।






प्रतिक्रिया