दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा आइतबार (आज) २ स्वास्थ्यकर्मीसहित थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
२० जनाको एन्टीजेन परिक्षण गर्दा २ स्वास्थ्यकर्मी सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको मार्मा गाउँपालिकाका जनस्वास्थ्य अधिकृत सुजन नेपालीले जानकारी दिनुभयो ।
मार्मामा आज संक्रमण पुष्टि हुनेमा ३३ वर्षीय पुरुष, १७ वर्षीया महिला, ३० वर्षीय पुरुष, १६ वर्षीया महिला र ३५ वर्षीय पुरुष रहेको उहाँले बताउनुभयो । त्यस्तै मालिकार्जुन गाउँपालिकामा पनि थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै जलविद्युत आयोजनामा कार्यरत तीन जना मजदुरमा पनि संक्रमण पुष्टि भएको मार्मा गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
यो सहित दार्चुलामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६० पुगेको छ । जसमा १३ जना स्वास्थ्यकर्मी रहेका छन। जिल्लामा कोरोनाको दोस्रो लहर सुरु भए यता विभिन्न स्थानीय तहमा १३ स्वास्थ्यकर्मी सहित ६० जनामा कोरोनाा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
कोरोना संक्रमण बढ्दै गएपछि दार्चुलामा वैशाख १६ गतेदेखि मार्मा गाउपालिका, व्यास गाउपालिकाको वडा नम्बर ६ र शैल्यशिखर नगरपालिकामा निषेधाज्ञा गरिएको छ । साथै वैशाख १९ गते अर्थात् आज बिहान ६ बजेदेखि लागू हुने गरी महाकाली नगरपालिमामा वैशाख २५ गते बेलुका ६ बजेसम्मका लागि निषेधाज्ञा गरिएको छ ।
जिल्ला अस्पताल दार्चुलाले समेत संक्रमितको संख्या बढ्दै गएपछि ईर्मेजेन्सी बाहेकका सेवा बन्द गरेको जनाएको छ । आजमात्रै शरीरमा अक्सिजनको मात्रा कम भएपछि व्यास घर भएका नेपाली सेनाका एक जना नायकलाई दार्चुलाबाट काठमाण्डौँ रेफर गरिएको छ ।
कोरोनाको लक्षण भएका बिरामी गाउँगाउँमा थला पर्न थालेकोले स्वास्थ्य सुरक्षाका मापदण्डको कडाइका साथ पूर्ण पालना गर्दै अत्यावश्यक काम बाहेर घर बाहिर ननिस्नन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।
अस्पतालमा समेत संक्रमितको उपचारका लागि शैय्या अभाव हुन थालेकोले जीवन रक्षाका लागि घर भित्रै बस्न र अत्यावश्यक कामले घर बाहिर निस्कनुपरे जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गर्न स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले अनुरोध गर्नुभयो ।





प्रतिक्रिया