दार्चुला जिल्लाभरी निषेधाज्ञा, एक सय बढी सक्रिय संक्रमित

दार्चुला । दार्चुला जिल्लाभरी कोरोना संक्रमित फेला परेपछि नौँ वटै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ ।

यसअघि दार्चुलाका सात वटा स्थानीय तहमा विभिन्न समयमा निषेधाज्ञा गरिएको थियो । नौगाड गाउँपालिका र दुहुँ गाउँपालिकामा समेत सक्रिय संक्रमित फेला परेपछि मंगलबार (आज) देखि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

दुहुँ गाउँपालिका वडा नम्बर २ का दुई जनामा कोरोना संक्रमण पुष्टि भएसंगै मंगलबारदेखि १० दिनसम्मका लागि गाउँपालिकाभरी निषेधाज्ञा जारी गरिएको छ । यस्तै नौगाड गाउँपालिकामा पनि संक्रमित फेला परेपछि मंगलबार (आज) राती १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले जानकारी दिनुभयो ।

दार्चुलामा कोरोनाको दोस्रो लहर सुरु भए यता एक सय बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य कार्यालय दार्चुलाको अध्यावधिक तथ्याङक अनुसार भने जिल्लाभरी ९६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । मंगलबार दिउँसोसम्म अपडेट गरेको विवरण अनुसार जिल्लाभरी ९६ जना सक्रिय संक्रमित भएपछि दिउँसो पछि विभिन्न स्थानीय तहमा संक्रमितको संख्या थप भएको हुनसक्ने स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस सम्पर्क व्याक्ति बिरेन्द्रराज भट्टले जानकारी दिनुभयो ।

मंगलबार बेलुकी मात्रै शैल्यशिखर नगरपालिका वडा नम्बर ५ बगौँरामा एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्थानीय स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि बजार व्यवस्थापन समितिको बैठक बसी बगौरा बजार वैशाख २७ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको स्थानीय कृष्णसिंह रावलले बताउनुभयो । हाल जिल्लाभरी एक दर्जन बढी स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन ।

समुदाय स्तरमा समेत कोरोना संक्रमणको दोस्रो लहर तिब्रगतिमा फैलिन थालेपछि कोरोना नियन्त्रण तथा रोकथाम गर्न स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम निषेधाज्ञा जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

कोरोनाको दोस्रो लहर फैलिएदेखि हालसम्म दार्चुला घर भएका तीन जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । भारतबाट आउने क्रम समेत बढ्दै गएको र लक्षणसहितका बिरामी गाउँगाउँमा थला पर्न थालेकोले समुदायस्तरमा कोरोना फैलिएको हुनसक्ने भन्दै महामारीको रुप लिनबाट बचाउन सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

कोरोनाको जोखिम न्यूनिकरणका लागि भन्दै दार्चुला सदरमुकाम खलंगास्थित पुलघाट सीमा नाकाबाहेक भारतसंग जोडिएका दार्चुलास्थित अन्य सबैै सीमा नाका बन्द गरिएको छ । नेपाल सरकारको निर्णय अनुसार दार्चुलाको खलंगा पुलघाट नाका मात्रै खुला गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताउनुभयो । दार्चुलामा भारतसँग सीमा जोडिएका लाली, जोलजीवि, दत्तु, तिग्रम, बडूगाउँ र सितापुल नाका बन्द गरिएको छ ।

खलंगाको पूलघाट नाका भएर आउने नेपालीहरुको एन्टिजेन परिक्षण अनिवार्य गरिएको छ । कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले भारतबाट आउने सबै नेपालीको अनिवार्य एन्टिजेन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।

एन्टिजेन परिक्षणसँगै नेपाल प्रवेश गर्ने नेपालीको अभिलेख राख्ने, पोजेटिभ देखिएमा आइसोलेसन वा अस्पतालमा राख्ने तथा नेगेटिभ देखिएका नेपालीलाई स्थानीय तहसँगको समन्वयमा सम्बन्धित ठाउँमा पठाइने उहाँको भनाई छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?