दार्चुला । नेकपा (एमाले)का केन्द्रीय सदस्य रामबहादुर थापाले वाग्मती प्रदेशमा राष्ट्रिय सभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडामा शुक्रवार (आज) उम्मेदवारीको मनोनयन दर्ता गराउनुभएको छ । उहाँको उम्मेदवारीका प्रस्तावकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत हुनुहुन्छ ।
गृहमन्त्री थापा आज आफ्नो मनोनयनपत्र दर्ता गर्न हेलिकप्टरबाट हेटौँडा पुग्नुभएको थियो । यस पदमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत दलका समर्थनमा डाक्टर खिमलाल देवकोटाले पनि उम्मेदवारीको मनोनयनपत्र दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडाले जनाएको छ । सङ्घीयताविद् डा। देवकोटाका प्रस्तावकमा माओवादी केन्द्र, वाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा कांग्रेस वाग्मती प्रदेशका प्रमुख सचेतक राधा घले रहनुभएको छ ।
वाग्मती प्रदेश सभामा ६६ निर्वाचन क्षेत्रका एक सय १९ पालिकाका प्रमुख–उपप्रमुख दुई सय ३८ र वाग्मती प्रदेश सभा सदस्य एक सय १० जना गरी कुल तीन सय ४८ मतदाता रहेको प्रदेश निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार आउँदो जेठ ६ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मारहेको भुटनदेवी मावि भवनमा दुई मतदान केन्द्र रहने गरी व्यवस्थापन मिलाइएको छ । एउटा पालिकाका लागि र अर्को प्रदेश सभा सदस्यका लागि केन्द्र निर्धारण गरिएको हो ।





प्रतिक्रिया