दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । गाउँपालिकाको सबैजसो वडाका विभिन्न गाउँमा मौसमी भाइरल ज्वरो फैलिएको छ ।
ज्वरोले गाउँभरीका अधिकासं घरमा बिरामी परेको लेकम गाउँपालिका वडा नम्बर ५ मैखोलीका देबराज जोशीले बताउनुभयो । मैखोली मात्र हैन दार्चुलाका दर्जनौँ गाउँहरुमा भाइरल ज्वरोको संक्रमण देखिएको छ । एउटै घरमा दुई तीन जना समेत बिरामी परेका छन् । तीन हप्ता पहिले देखि फैलिएको भाइरल ज्वरोका कारण अधिकासं मानिसहरु बिरामी परेका छन् ।
केहि मानिसलाई सञ्चो लाग्न थालेपनि अधिकासं सञ्चो नभएर औषधी सेवन गरिरहेका छन् । भाइरल ज्वरो फैलिएको एक महिना भइसकेको सुनाउँदै उहाँले पुराना बिरामीलाई ज्वरो निको भएपनि गाउँमा नयाँ बिरामी थपिंदै गएको बताउनुभयो ।
शरीर दुख्ने, कडा ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, खाना निल्न कठिनाई हुने, बान्ता हुने लक्षण रहेको ज्वरोका बिरामी दैनिक रुपमा स्वास्थ्य संस्थाहरुमा समेत पुग्ने गरेको स्वास्थ्यकर्मी पुष्करराज जोशीले बताउनुभयो । उहाँका अनुसार एक सय १ डिग्री भन्दा बढी ज्वरो आएका बिरामी अस्पताल पुग्ने गरेका छन् ।
अस्पतालको औषधीले ज्वरो कम भएपनि शरीर दुख्ने, टाउको दुख्ने र बान्ता हुने क्रम नरोकिएको बिरामीहरुले बताएका छन् । ज्वरोका कारण खाना खान मन नलाग्ने भएकोले बिरामी परेका मानिसहरु ज्वरो निकै भएपछि समेत निकै कमजोरी महसुस गरिरहेका छन् । स्वास्थ्य संस्थाहरुमा सबै प्रकारको औषधी समेत उपलब्ध नरहेको र कोरोना संक्रमणको डरले अस्पतालहरुमा जान समेत समस्या भइरहेको बिरामीहरुको गुनासो छ ।
जिल्ला अस्पताल दार्चुलाले समेत इर्मेजेन्सी बाहेकका सेवा बन्द गरेपछि ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढेको छ । जिल्लाभरी कोरोना संक्रमणका बिरामीहरु समेत फेला परिरहेकोले कोरोना परीक्षण नगरेरै बिरामीहरुको उपचारमा खटिनुपर्दा स्वास्थ्यकर्मीहरुलाई समेत जोखिम थपिएको छ ।
दार्चुलामा दुई दर्जन बढी स्वास्थ्यकर्मीसहित दुई सय बढी जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । ग्रामीण क्षेत्रका चार जना संक्रमितले ज्यान समेत गुमाइसकेको र अधिकासं सक्रिय संक्रमित रहेकोले कोरोना परीक्षणको दर बढाउनु आवश्यक रहेको स्वास्थ्यकर्मीहरु बताउछन् । पछिल्लो समय दैनिक रुपमा संक्रमित थपिदै गएपछि समुदायस्तरमा कोरोना फैलिसकेको आशंका गरिएको छ ।
भाइरल ज्वरो र कोरोनाको संक्रमण एकसाथ फैलिएकोले उपचारमा समेत समस्या भइरहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । कोरोना संक्रमणको जोखिमका बिच पनि आफुहरु निरन्तर बिरामीको उपचारमा खटिएको रिठाचौपाता स्वास्थ्य चौकीका प्रमुख अम्बादत्त जोशीले बताउनुभयो ।
केहि ठाउँमा कोरोना त्रासका कारण स्वास्थ्यकर्मीहरु बिरामीको उपचार गर्न डराइरहेको गुनासो आइरहेका बेला लेकम गाउँपालिका वडा नम्बर ५ का केहि स्वास्थ्यकर्मी भने बिरामीको घरमै पुगेर उपचार गरिरहेका छन् ।






प्रतिक्रिया