दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाले २५ बेडको आइसोलेसन निर्माण गरेको जनाएको छ ।
साविकको शैल्यशिखर नगरपालिका भवनमा २५ बेडको आइसोलेसन तयार गरिएको शैल्यशिखरका नगरप्रमुख अमरसिंह धामीका स्वकीय सचिव सुरेश बिष्टले जानकारी दिनुभयो ।
आइसोलेसन कक्षमा अक्सिजन, शौचालय, खानेपानी लगायत आवश्यक पुर्वाधारको व्यवस्थापन गरिएको बिष्टले रेडियो लोकदर्पणलाई बताउनुभयो । अहिले नगरपालिकाको आइसोलेसनमा एक जना पनी बिरामी बस्नुभएको छैन् । आइसोलेसनमा बस्ने बिरामीहरुको चाप हेरेर बेड थप गरिने नगरपालिकाले जनाएको छ ।
जिल्लाभरी कोरोना संक्रमित फेला परेपछि कोरोना उपचार, रोकथाम तथा नियन्त्रणका लागि विभिन्न प्रयासहरु भइरहेका छन् । दार्चुलाका स्थानीय तहहरुले क्वारेन्टाइन र आइसोलेसन बनाउन सक्रियता नदेखाएको भन्दै आलोचना भइरहेको बेला शैल्यशिखर नगरपालिकाले आइसोलेसन कक्ष निर्माण गरेको हो ।
दार्चुला सदरमुकाम खलंगास्थित महेन्द्र नमुना माबि खलंगामा समेत आइसोलेसन बनाउने तयारी भइरहेको छ । केहि दिन पहिले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र दार्चुलाको बैठकले जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालमा पचास÷पचास बेडको आइसोलेसन निर्माण गर्ने निर्णय गरेको थियो ।
शैल्यशिखर नगरपालिका अन्तरगत रहेको गोकुलेश्वर अस्पतालमा समेत अस्पताल व्यवस्थापन समितिको बैठक बसेको छ । नगरप्रमुख अमरसिंह धामीको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमितको उपचारका साथै कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न विषयमा छलफल गरेको अस्पतालले जनाएको छ ।
हेर्नुहोस गोकुलेश्वर व्यवस्थापन समितिले गरेका निर्णयहरु



दार्चुलामा अहिले तीन सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।





प्रतिक्रिया