दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा दार्चुलाका सबै स्थानीय तहको भन्दा बढी संक्रमित फेला परेका छन। नयाँ भेरियन्टको कोरोना भाइरस फैलिएपछि अपिहिमाल गाउँपालिकाका एक सय छ जना संक्रमित भइसकेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
गाउँपालिकामा संक्रमण फैलिएपछि पालिकास्तरीय कोभिड १९ संकट व्यवस्थापन समिति र सर्वपक्षीय बैठकले अपिहिमाल गाउँपालिकाको वडा नम्बर १, २, ४ र ६ मा आइसोलेसन सैय्या बनाउने निर्णय गरेको छ । यी चार वटै वडामा ५।५ बेडको आइसोलेसन शैय्या निर्माणको लागि मकरीगाड हाइड्रोपावरसँग सहयोग माग्ने बैठकले निर्णय गरिएको विपद व्यवस्थापन अधिकृत पानसिह धामीले जानकारी दिनुभयो ।
अपिहिमाल गाउँपालिकाको वडा नम्बर ५ मा निर्माणाधीन मकरीगाड हाइड्रोपावरको सामाजिक उत्तरदायित्त कोषबाट आइसोलेसनको लागि चाहिने सामग्री उपलब्ध गराउन बैठकले आग्रह गरेको हो ।
बैठकले मकरीगाड बजारलाई बिहान ८ देखि १० बजेसम्म र अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी बजार दिउँसो २ बजेदेखि ५ बजेसम्म मात्रै खुला गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाभरी कोभिडको बारेमा माईकिङ तथा जनचेतनामुलक प्रचार प्रसार गर्ने निर्णय भएको धामीले बताउनुभयो । जिल्लाभरी जेठ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको भएपनि ग्रामीण क्षेत्रमा पालना नभएको कारण कोरोनाको जोखिम बढ्दै गएको जनगुनासो छ ।
हालसम्म जिल्लाको अपिहिमाल गाउँपालिकामा सबै भन्दा बढी एक सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महाकाली नगरपालिकामा ९७ जनामा, शैल्यशिखर नगरपालिकामा ४५ जनामा, ब्याँस गाउँपालिकामा ६ जनामा, दुहुँ गाउँपालिकामा १० जनामा, मार्मा गाउँपालिकामा २७ जनामा, नौगाड गाउँपालिकामा ३ जनामा, मालिकार्जुन गाउँपालिकामा १३ जनामा र लेकम गाउँपालिकामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्क छ ।
जिल्लामा कोरोना संक्रमणको कारण छ जनाको मृत्यु भइसकेको र २९ जनाले कोरोना जितेको तथा २९० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




