दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीको आइतवार सिंहदरबारमा बसेको विशेष बैठकमा प्रधानमन्त्री ओलीले प्रक्रियामा अल्झिएर र आर्थिक स्रोतको अभावमा कुनै पनि नागरिकको ज्यान जाने अवस्था सिर्जना हुन नदिन निर्देशन दिनुभएको हो ।
उहाँले झन्झटिला प्रक्रिया छोट्याएर, कानुन मिलाएर, प्रक्रिया मिलाएर भए पनि हर हालतमा नागरिकको जीवन रक्षामा जुट्न निर्देशन दिनुभएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्रीले दिएको निर्देशन उदृत गर्दै मन्त्री ज्ञवालीले भन्नुभयो, ‘प्रधानमन्त्रीले प्रक्रियामा अल्झिएर या आर्थिक स्रोतको अभावले कुनै पनि नागरिकको ज्यान जान हुँदैन भन्नुभएको छ । प्रक्रिया झन्झटिला छन् भने छोट्याएर, हप्तामा हुने कामलाई दिनमा, दिनमा हुने कामलाई घण्टामा गरेर भए पनि तत्काल नागरिकको जीवन रक्षाका लागि जे–जे गर्नुपर्छ त्यो गर्नुहोस् र त्यसका लागि आवश्यक कानुन मिलाउनुपर्ने भए कानुन मिलाउनुहोस्, प्रक्रिया मिलाउनु पर्ने भए प्रक्रिया मिलाउनुहोस्, र्यापिड रेस्पोन्स टिम बनाउनुहोस् तर हर हालतमा नागरिकको जीवन रक्षा हुनुपर्यो उहाँले भन्नुभएको छ ।’
बैठकमा कोभिड १९ सङ्क्रमणको महामारीसँग प्रभावकारी ढङ्गले लड्नका लागि स्वास्थ्य सङ्कटकाल लगाउनेबारे पनि छलफल भएको जानकारी दिनुभयो । तर स्वास्थ्य सङ्कटकाल लगाउनका लागि विद्यमान सङ्क्रामक ऐन २०२० स्वास्थ्य प्रणालीको संरचना तथा सार्वजनिक खरिद ऐनमा भएका प्रक्रियाले समस्या पारेकाले अनुकूल कानुन बनाउने विषयमा सरोकारवाला मन्त्रालयसँग पनि छलफल गरिएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँले तत्काल देखिएको अक्सिजन आपूर्तिको समस्या समाधानका लागि उद्योगीलाई डिमान्ड चार्ज लगायतका छुट दिएर उत्पादन वृद्धि गर्ने विषयमा पनि बैठकमा छलफल भएको जाकारी दिनुभयो ।





प्रतिक्रिया