दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका र व्यास गाउँपालिकामा रहेका तीन वटा खाद्य डिपोमा तीन हजार क्वीन्टल खाद्यान्न थप गरिएको छ ।
गाउँपालिकावासीका लागि खाद्यान्न अभाव हुन नदिन तीन हजार क्वीन्टल खाद्यान्न कोटा थप गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका निमित्त विभागिय प्रमुख भीम बहादुर थापाले बताउनुभयो ।
व्यास गाउँपालिकाको सुन्सेरा र राप्ला डिपो तथा अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी डिपोका लागि तीन हजार क्वीन्टल खाद्यान्न कोटा थप गरिएको थापाले बताउनुभयो ।
दार्चुलाका दुर्गम स्थानमा खाद्यान्न अभाव हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सम्बन्धित पालिकाहरुको अनुरोधमा खाद्यान्न थप गरिएको हो । सुन्सेरा डिपोका लागि एक हजार र राप्ला डिपोका लागि ५ सय क्वीन्टल खाद्यान्न कोटा थप गरिएको छ । अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी डिपोका लागि १५ सय क्वीन्टल खाद्यान्न कोटा थप गरिएको छ ।
गाउँपालिकाहरुको अनुरोधमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले केन्द्रिय कार्यालयलाई बैशाख १३ गते खाद्यान्न थप गर्न सिफारिस गरेको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रधान कार्यालयले प्रादेशिक कार्यालय धनगढीलाई खाद्यान्न कोटा थप गरिएको जानकारी सहित बैशाख २८ गते पत्राचार गरेको छ ।

सरकारले विगतदेखि नै दुर्गम स्थानमा डिपो स्थापना गरि उपभोक्ताहरुलाई सस्तो मूल्यमा खाद्यान्न उपलब्ध गराउदै आएको छ । खाद्यान्न ढुवानी र वितरण कार्यमा भने अनियमितता हुने गरेको गुनासो जनस्तरबाट बेलाबेला आउने गरेको छ ।
व्यास गाउँपालिकाको वडा नम्बर १ मा भने बाटो नहुदा खाद्यान्न ढुवानीमा समस्या भएको स्थानीयले बताएका छन् ।
यो पनि पढ्नुहोस : व्यासमा रोकियो खाद्यान्न ढुवानी, बाटो निर्माणमा चासो नदेखाएको गुनासो





प्रतिक्रिया