दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ का सुन्दर जोशी (नाम परिवर्तन) दश दिनदेखि घरमै होम आईसोलेसनमा हुनुहुन्छ । वैशाख २६ गते पीसीआर परीक्षण गराउँदा उहाँमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएदेखि नै उहाँ होम आइसोलेसनमा बस्नुभएको हो । मापदण्डको पालना गरेरै होम आईसोलेसनमा बसे पनि उहाँका परिवारका अरु दुई सदस्यलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
‘सावधानी त अपनाएकै थिएँ, तर पनि श्रीमती र छोरीमा संक्रमण भएछ,’ सुन्दरले भन्नुभयो, ‘होम आइसोलेसनमा जति सजग हुँदा पनि सुरक्षित हुन नसकिने रहेछ ।’ उहाँको घरमा शौचालय एउटै छ, पानी, बाटो, आँगन उही हो । उहाँले भन्नुभयो, ‘मैले यति सावधानी अपनाउँदा अपनाउँदै त परिवारका अरु सदस्यहरूलाई संक्रमण सर्यो भने मापदण्डबारे खासै जानकारी नभएका र सावधानी नअपनाउनेको अवस्था त झन के होला ?
महाकाली नगरपालिका वडा नम्बर ४ का विवेक भट्ट (नाम परिवर्तन) लाई कोरोना संक्रमण पुष्टि भएको ७ दिन भयो । उहाँ पनि होम आईसोलेसनमा हुनुहुन्छ । तर होम आइसोलेसन सुरक्षित महसुस भएको छैन् । ‘आफूले जति सावधानी अपनाए पनि परिवारका साथै टोल छिमेककाहरू नजिक आईहाल्छन्,’ विवेकले भन्नुभयो, ‘होम आइसोलेसनले नै बढी संक्रमण फैलाउँछ कि भन्ने पो डर लागिरहेको छ ।’
दार्चुलाको धेरै गाउँमा ज्वरो र रुघाखोकीका बिरामी सयौँ देखिएको स्वास्थ्यकर्मीहरु बताउछन । समयमै परीक्षण नगराउने हो भने गाउँ नै संक्रमणको जोखिममा पर्ने अवस्था छ । तर परीक्षण गराउन न दार्चुलामा प्रयाप्त किट छ नत परीक्षणको रिपोर्ट समयमै आउने गरेको छ । नौगाड गाउँपालिकाबाट एक हप्ता पहिले स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि नमुना बैतडी प्रयोगशाला पठाएको भएपनि अहिलेसम्म रिपोर्ट आइसकेको छैन् । स्वाब दिएकाहरु घर परिवार र समुदायमा घुलमित समेत भएका छन् । परीक्षण गरेकाहरुमा संक्रमण पुष्टि भयो भने गाउँ नै जोखिममा पर्ने डर रहेको स्थानीय प्रकाशसिंह धामीले बताउनुभयो ।
‘संक्रमित सबैको घरमा एउटा मात्रै शौचालय छ । धारा पनि एउटै छ,’ आँगन, बाटो उही हुन्छ । घरको तल गोठ छ, गोठमा गाई, भैसी राखिएको छ । भित्र परिवार ठूलो छ, कोठा साना र थोरै छन । त्यसैले असुरक्षित ढंगले होम आइसोलेसनमा बस भन्नु भन्दा पनि सरकारले संक्रमितहरूका लागि होल्डिङ्ग सेन्टर र छुट्टै आइसोलेसन बनाउनेतर्फ पहल गर्नुपर्ने संक्रमितहरु बताउछन् ।
भन्न त धेरै सजिलो छ, शहरका जस्ता ठूला महल गाउँमा हुँदैनन् । हाम्रा घर प्रायः तल गोठ र माथि मानिस बस्ने गरि बनाइएका छन् । साँघुरा कोठा हुन्छन् । त्यसैमा परिवारका सबै सदस्य बस्नुपर्छ, अनि के को आइसोलेसन ? गाउँमा सहरका जस्ता ठूला घर हुँदैनन् । निजी कोठा हुँदैनन् । गाउँघरमा प्रायः घर साना हुने र एउटै कोठामा कोरोना संक्रमित र परिवारका अन्य सदस्यहरू बस्नु पर्ने बाध्यता रहेको लेकम गाउँपालिकाका एक जना संक्रमितले बताउनुभयो ।
दार्चुलामा बुधबार मात्रै थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार थपिएका सहित दार्चुलामा कोरोनाको दोस्रो लहर सुरु भए यता कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ सय ३६ पगेको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना सिआइसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिनुभयो ।
कोरोनाको दोस्रो लहर सुरु भए यता दार्चुलाको महाकाली नगरपालिकामा सबै भन्दा बढी १ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै अपिहिमाल गाउँपालिकामा १ सय ६ जनामा, शैल्यशिखर नगरपालिकामा ५१ जनामा, मार्मा गाउँपालिकामा ४१ जनामा, लेकम गाउँपालिकामा ३५ जनामा, व्यास गाउँपालिकामा २२ जनामा, मालिकार्जुन गाउँपालिकामा १५ जनामा, दुहुँ गाउँपालिकामा ११ जनामा र नौगाड गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लामा कोरोनाको दोस्रो लहर सुरु भए यता ९ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ । ११३ जना संक्रमणमुक्त भएको बोहराले बताउनुभयो ।
भारतका विभिन्न स्थान तथा मुलुकभित्रकै अन्य जिल्लाबाट आएका व्यक्तिहरू र संक्रमितलाई होम आइसोलेसनमा बस्न लगाउँदा कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएको स्थानीयहरूको गुनासो छ । भारतसंग जोडिएको खलंगा नाकाबाट दैनिक मानिसहरु भित्रिरहेका छन् । जिल्ला बाहिर रहेका सयौँ विद्यार्थी, कर्मचारी र सर्वसाधारण समेत जिल्ला भित्रिएर सिधै घर गएको पाइएको छ ।
होम आइसोलेसनमा बसेका संक्रमितहरूले पर्याप्त सावधानी नअपनाउँदा वा अपनाउन नसक्दा समुदायमा समस्या बढेको छ । संक्रमितहरू गाउँमा खुलेआम घुमिरहेका छन् यसले कोरोना संक्रमणको जोखिम झन् बढेको पत्रकार प्रकाश कार्कीले बताउनुभयो ।
दार्चुलाको महाकाली नगरपालिकामा ५० बेड र शैल्यशिखर नगरपालिकामा २५ बेडको आइसोलेसन बनाइएको भएपनि संक्रमितलाई राखिएको छैन् । कोरोनाको पहिलो लहरमा स्थानीय तहहरुले क्वारेन्टाइन र आइसोलेसनको राम्रो व्यवस्थापन गरेका कारण संक्रमण गाउँघरमा फैलिन पाएको थिएन तर कोरोनाको दोस्रो लहर फैलिएपछि नियन्त्रण तथा रोकथाममा स्थानीय तहहरूको भूमिका खासै प्रभावकारी हुन सकेको छैन । गत वर्ष कोरोनाको पहिलो लहरमा क्वारेण्टिन निर्माण, क्वारेन्टिनमा बसेकाहरूको आवास र खाना लगायतका शिर्षकमा दार्चुलाका स्थानीय तहरूले १३ करोड बढी बजेट खर्च गरेका थिए ।
तर, कोरोनाको दोस्रो लहरमा स्थानीय तहहरूले रोकथाम र नियन्त्रणमा उदासिनता देखाएको स्थानीयहरूको गुनासो छ । अहिले बजेट सबै बिनियोजन भइसकेको र थप बजेट नभएका कारण पनि क्वारेन्टिन तथा होल्डिङ्ग सेण्टरहरू निर्माण गर्न नसकिएको जनप्रतिनिधिहरु बताउछन् ।





प्रतिक्रिया