दार्चुला । अपिहिमाल गाउँपालिकामा एक घर, एक धारा निर्माण भइरहेका छन् । सात हजार बढी जनसंख्या तथा १२ सय ७३ घरधुरी रहेको अपिहिमालमा हालसम्म नौँ सय बढी घरमा धारा निर्माण सम्पन्न भएका छन् । चालु आर्थिक वर्षभित्रै एक हजार बढी घरधुरीमा धारा निर्माण गरिसक्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिनुभयो ।
अपिहिमाल गाउँपालिका, ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना तेस्रो चरण अन्तरगत पालिका भित्र खानेपानी तथा सरसफाइ, जिबिकोपार्जन, जलवायु अनुकुलन तथा प्रकोप जोखिम न्युनिकरण र सुशासनको क्षेत्रमा आर्थिक सहयोग गर्ने दुई देशका राजदुतको उपस्थितिमा खानेपानी आयोजनाहरुको उद्धघाटन गरिएको छ । नेपालका लागि फिनल्यान्डका राजदुत प्रिति एन्टिनेन र युरोपियन युनियनका राजदुत नोना डेप्रेजले अपिहिमाल गाउँपालिका भित्र सम्पन्न भएका कुर्मुल, खत्तोली र झुस्कुचौड खानेपानी तथा सरसफाइ योजनाको उद्धघाटन गरेको गाउँपालिकामा कार्यरत कर्मचारी पानसिह धामीले जानकारी दिनुभयो । राजदुतद्धयले गाउँपालिकाका विभिन्न क्रियाकलापहरुको स्थलगत अवलोकन भ्रमण, कार्यपालिका र सहकारी सहितको सयुक्त बैठक र खानेपानी योजना र अपिहिमालको बस्तुस्थितिबारे अवलोकन भ्रमण समेत गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा अपिहिमाल गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीयका साथै राजदुतहरुका दोभाषे, दार्चुला जिल्लाका जलस्रोत सल्लाहकार लव राज पन्त लगायत ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका कर्मचारीहरुको सहभागिता रहेको थियो । राजदुतहरुले अपिहिमाल गाउँपालिकाको भौगोलिक बिकटता, भेषभुसा, रहनसहन र प्राकृतिक सौन्दर्यतालाई अवलोकन गर्दै फेरीपनि विभिन्न कार्यक्रम (प्रोजेक्ट) मार्फत गाउँपालिका भ्रमण गर्ने चाहाना व्यक्त गरेको गाउँपालिकाले जनाएको छ ।
एक घर एक धारा कार्यक्रम अन्तरगत अपिहिमालमा हालसम्म आठ वटा स्किम तथा आयोजना सम्पन्न भइसकेको र छ वटा स्किम निर्माणाधिन रहेको बताइएको छ । अपिहिमाल गाउँपालिकाको प्रतेक घरमा खानेपानीको धारा निर्माण गर्ने चुनाबी घोषणा र लक्ष्य अनुसार पौने १३ सय घरधुरीमध्ये अहिलेसम्म नौँ सय बढी घरधुरीमा धारा निर्माण भइसकेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउनुभयो । बाकी घरधुरीमा समेत अगामी वर्ष खानेपानी पुर्याउने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाई छ ।
अपिहिमाल गाउँपालिका वडा नम्बर ६ सितोलामा एक घर एक धारा नभएकोले पहिलेको स्किमलाई मर्मत गरेर नयाँ परियोजना अनुसार निर्माण गर्न गाउँपालिकाको तर्फबाट प्रस्ताव गरिएको अध्यक्ष मन्यालले बताउनुभयो । एक घर एक धारा अन्तरगत खानेपानीको धारासंगै सिचाई ट्याङ्की, कसेराबारी र घट्ट लगायत बहुउपयोगिताको अवधारण अबलम्बन गरिएको छ । एक घर एक धारा कार्यक्रम मार्मा क्षेत्रको अपिहिमाल, नौगाड र मार्मा गाउँपालिकामा सञ्चालित छ । सोमबार अपिहिमाल गाउँपालिका पुगेको राजदुतहरुको टोली बुधबार मार्मा पुगेर खानेपानी आयोजना उद्धघाटन गर्ने योजना छ ।





प्रतिक्रिया