दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाले पनि स्वास्थ्यकर्मीहरुलाई गाउँघरमै परिचालन गरेर बिरामीको उपचार र कोरोना संक्रमितको खोजि गर्न थालेको छ ।
मार्माका छ वटै वडामा केस इन्भेष्टिकेसन एण्ड कन्टेक्ट आइडेन्टिफिकेसन (सिआइसिआई) समुह निर्माण गरेर वडा स्तरिय केस अनुसन्धान तथा केस पहिचान गर्ने काम भइरहेको जनस्वास्थ्य अधिकृत सुजन नेपालीले जानकारी दिनुभयो ।
गाउँमै पुगेर कोरोना संक्रमितको पहिचान, उपचार र परामर्श सेवा शुरु भएपछि स्थानीयहरुले राहात महसुस गरेको उहाँले बताउनुभयो ।
दार्चुलाको अपिहिमाल, दुहुँ र नौगाड गाउँपालिकाले समेत स्वास्थ्यकर्मीहरुलाई गाउँघरमै पठाएर संक्रमितको पहिचान, बिरामीको उपचार र स्थानीयलाई स्वास्थ्य परामर्श सेवा दिइरहेका छन् ।
जिल्लाभरी कोरोना महामारीले सन्त्रास फैलिएको बेला गाउँगाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । गाउँघरमा कोभिडको जस्तै लक्षणसहित बिरामी बढेपछि बिरामीको उपचारमा स्वास्थ्यकर्मी परिचालन गरिएको बताइएको छ ।
कोरोना संक्रमणको डरले उपचारका लागि स्वास्थ्य संस्था जान नसकेकालाई घरमै स्वास्थ्य उपचार र परामर्श सेवा सुरु गरिएको र संक्रमितलाई समेत मनोपरामर्श तथा उपचार सेवा प्रवाह भइरहेको अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउनुभयो ।







प्रतिक्रिया