दार्चुला । कोरोना संक्रमणको दोस्रो लहर तिब्र भइरहेको दार्चुलामा स्वास्थ्य क्षेत्र नराम्ररी प्रभाजित भएको छ । कोरोना संक्रमण तिब्र फैलिरहेको अवस्थामा नियमित औषधी सेवन गरिरहेका बिरामीहरु सबैभन्दा बढी मर्कामा परेका छन ।
जिल्लाभरी कोरोना महामारी फैलिएको बेला गाउँगाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । गाउँघरमा कोभिडको जस्तै लक्षणसहित बिरामी बढेपछि बिरामीको उपचारको लागी लेकम गाउँपालिकाले घर घरमै स्वास्थ्यकर्मी परिचालन गरि स्थानीयको स्वास्थ्य परिक्षण गर्न थालेको छ ।
गाउँपालिकामा कोरोना संक्रमित बढ्न थालेपछि कोरोना नियन्त्रण र रोकथामको लागी घरदैलोमै स्वास्थ्यकर्मी परिचालन गरेर स्वास्थ्य परिक्षण गर्न थालिएको लेकम गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत कृष्ण बडूले जानकारी दिनुभयो ।
बुधबार (आज) बाट सुरु गरिएको उक्त कार्यक्रममा वडा नम्बर ४ मा रहेको खरकडा स्वास्थ्य चौकीका हेल्थ अस्सिटेन्ट (एचए) धमेन्द्र तन्तको नेतृत्वमा खटिएको ४ जनाको टोलीले झलाती टोलका स्थानीयको स्वास्थ्य परिक्षण गरेको उहाँले बताउनुभयो ।
वडा नम्बर ४ को झलातीमा सञ्चालन भएको उक्त कार्यक्रमबाट १७ जनाको स्वास्थ्य परिक्षण गरि प्राथमिक औषधी वितरण गरिएको छ, भने ५ जनाको एन्टीजेन परिक्षण गर्दा १ जना ५५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएकोे लेकम गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाका अन्य वडाहरुमा पनि निरन्तर कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।
दार्चुलाका विभिन्न स्थानीय तहले स्वास्थ्यकर्मीहरुलाई घर टोलमै पठाएर स्वास्थ्य उपचार र परामर्श सेवा दिइरहेका छन् । जिल्लाका अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, दुहुँ गाउँपालिका र नौगाड गाउँपालिकाले गत हप्तादेखि घरदैलो स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गरेका छन ।
कोरोना संक्रमणको डरले उपचारका लागि स्वास्थ्य संस्था जान नसकेकालाई घरमै स्वास्थ्य उपचार र परामर्श सेवा सुरु गरिएको र संक्रमितलाई समेत मनोपरामर्श तथा उपचार सेवा प्रवाह भइरहेको छ ।





प्रतिक्रिया