दार्चुला । दार्चुलामा आईतबार थप छ जना संक्रमितले कोरोना जितेका छन् ।
यो संगै दार्चुलामा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ सय ३९ पुगेको छ।
स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार पछिल्लो समय संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ ।
सक्रिय संक्रमितको संख्या घटेपनि जोखिम कायमै रहेकोले निषेधाज्ञा र स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् ।
निषेधाज्ञा र स्वास्थ्य सुरक्षाका मापदण्डको पालना भएकै कारण संक्रमितको संख्या घट्दै गएको बताइएको छ । कोरोनासंगै भाइरल ज्वरोको प्रकोप देखिएपछि दार्चुलाको महाकाली, अपिहिमाल, मार्मा, नौगाड, दुहुँ र लेकम गाउँपालिकामा स्वास्थ्यकर्मीहरु गाउँघरमै गएर समेत बिरामीको उपचार तथा परामर्श सेवा प्रदान गरिरहेका छन् ।
दार्चुलामा आइतबार तीन जना संक्रमित थपिएसंगै संक्रिय संक्रमितको संख्या १२६ पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
कोरोनाको दोस्रो लहर सुरु भए यता दार्चुलामा संक्रमणको कारण तीन जना महिलासहित ११ जनाको ज्यान गएको छ। जसमध्ये छ जनाको जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको छ ।
कोरोनाको दोस्रो लहर सुरु भया यता कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ सय ७६ पुगेपनि ५३९ संक्रमित कोरोना जितेर डिस्चार्ज भइसकेका छन् ।
हालसम्म जिल्लाको महाकाली नगरपालिकामा १ सय ७० जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै शैल्यशिखर नगरपालिकामा ९२ जनामा, अपिहिमाल गाउँपालिका १ सय ७ जनामा, ब्याँस गाउँपालिकामा ३० जनामा, दुहुँ गाउँपालिकामा ७० जनामा, मार्मा गाउँपालिकामा ४८ जनामा, नौगाड गाउँपलिकामा ५४ जनामा, मालिकार्जुन गाउँपालिकामा ४३ जनामा र लेकम गाउँपालिकामा ६२ जनामा संक्रमण पुष्टि भएको छ ।





प्रतिक्रिया