दार्चुला । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलाससम्बन्धी विवाद समाधान गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सर्वोच्च बार एसोसिएशनका पदाधिकारीसँग भएको छलफलमा उहाँले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमति जनाउनुभएको हो । यो सहमतिसँगै प्रतिनिधि सभा विघटनबारेको सुनुवाइ गर्न गठन भएको संवैधानिक इजलास पुनर्गठन हुने भएको छ ।
संवैधानिक इजलासमा रहेका न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि रिट निवेदकतर्फका वकिलहरुले प्रश्न उठाएपछि प्रधानन्यायाधीश जबरा र सर्वोच्च बार एसोसिएशनका पदाधिकारीहरुबीच छलफल भएको थियो ।
छलफलमा संवैधानिक इजलाससम्बन्धी नियममै परिर्वतन गरेर वरिष्ठताका आधारमा बेञ्च गठन गर्ने व्यवस्था गर्न प्रधानन्यायाधीश सहमत हुनुभएको सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिनुभयो ।
भेटपछि पत्रकारसँग कुरा गर्दै उहाँले एक हप्ताभित्रै संशोधन प्रस्ताव ल्याउने र त्यसपछि मात्र संवैधानिक विवाद अगाडि बढाइने जानकारी दिनुभयो। आजको बेञ्च स्थगित हुन सक्ने पनि उहाँको भनाइ थियो।





प्रतिक्रिया