दार्चुला । दार्चुलाका स्थानीयलाई यतिबेला कोरोनाको भन्दा भोकमरीको चिन्ताले सताउन थालेको छ । गत विगतका बर्षहरुमा यो समयमा गहु बाली भित्र्याउने जिल्लाका स्थानीयहरुले यो बर्ष खडेरीले गहु उत्पादन कम भएपछि मनमा कोरोनाको भन्दा भोकमरीको चिन्ता बढेको लेकम गाउँपालिका वडा नम्बर ५ का स्थानीय विमल लुहारले बताउनुभयो ।
खडेरीका कारण खेतबारीमा लगाएको हिउँदे अन्नबाली सबै खेतबारीमै सुकेपछि उहाँलाई मात्रै नभएर जिल्लाका अधिकांश किसानहरुलाई भोकमरी हुने चिन्ताले पिरोल्न थालेको हो । स्थानीय लुहारले कोरोनाको डर भन्दा भोकले मरिने डरले आफूहरुलाई पिरोलीरहेको दुखेसो रेडियो लोकदर्पणसंग पोख्नुभयो ।
गत बर्षको साउनमा कोरोना संक्रमण बढेपछि भारतबाट फर्किनुभएका उहाँ गाउँमै केही गर्ने भन्दै यतै बस्ने योजनामा हुनुहुन्छ । कोरोना संक्रमणले भारतको रोनगारी गुम्यो, रोजगारीको लागी भारत जाउ भने कोरोनाले मरिएला भन्ने डर छ, यतै बसौ भने भोकमरीले मरिएला भन्ने पिर छ उहाँले भन्नुभयो ।
आफ्ना पुर्खाले गर्दे आएको आरन व्यवसाय सुधारका लागी गाउँपालिकामा निवेदन दिएको भए पनि अहिले सम्म गाउँपालिकाले कुनै सहयोग नगरेको उहाँले गर्नुभयो । सरकारबाट प्राप्त हुने कुनै पनि रोजगार मुलक कार्यक्रम, सहयोग, राहात केही पाएको छैन, आरन व्यवसाय सुधारको लागी गाउँपालिकामा निवेदन दिएको थिए, गाउँपालिकाले पनि कुनै सहयोग गरेन लुहारले गुनासो गर्नुभयो ।
भारतबाट फर्किएर गाउँमै आरन व्यवसाय गरेर बस्ने सोच बनाउनुभएका उहाँ कुनै पनि निकायबाट सहयोग नपाएपछि फेरी भारत नै जाने सोचमा हुनुहुन्छ । १० जनाको परिवार छ, आयमुलक व्यवसाय केही छैन, अलि अलि भएको खेतमा यो बर्ष खडेरी गहु फलेन, घरमा खानको लागी अन्नको गेडा छैन । कोरोनाले भन्दा भोक भोकै मरिने डर छ, उहाँले भन्नुभयो ।
गाउँपालिकाले आफुहरुका लागी कुनै चासो नदेखाएको उहाँको गुनासो छ । उहाँजस्तै भारतमा रोजगारी लागि गएका जिल्लाका कतिपय युवाहरु पनि कोरोनाका कारण धमाधम रोजगारी छोडेर स्वदेश फर्किने क्रम जारी छ । उनिहरुको रोजगारी खोसिएको छ ।
विदेशको रोजगारी गुमाएर फर्किएका युवाहरुको लागी जिल्लाका कुनै पनि स्थानीय तहले राम्रो व्यवस्था गर्न नसकेको स्थानीय युवाहरुको गुनासो छ ।





प्रतिक्रिया