अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको निर्णय

जुम्ला । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीवासीको सपनाले सार्थकता पाएको हो । 

बहुप्रतिक्षित यो कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगले स्वीकृति दिने निर्णय गरेको छ । यही जेठ २९ गते सम्पन्न आयोगको बैठकले प्रतिष्ठानमा स्नातक तहको एमबीबीएस कार्यक्रम सुरुवात गर्न स्वीकृति दिने निर्णय गरेसँगै अब कर्णालीमा डाक्टरी पढाइको वैधानिक ढोका खुलेको हो । 

आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाले प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्ने निर्णय भइसकेको जानकारी दिँदै चालु आर्थिक वर्षको शैक्षिक सत्रभित्र नै कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो । 

कोभिड–१९ का कारण निर्णयसहितका प्रक्रियामा ढिलो भए पनि यही शैक्षिक सत्रमा एमबीबीएस कार्यक्रम सञ्चालन हुन्छ, उहाँले भन्नुभयो, अहिलेलाई एमबीबीएस सञ्चालन गर्न प्रतिष्ठानलाई झन्डै २५ सिट दिने गरी निर्णय भएको छ । 

आधिकारिकरुपमा एक/दुई दिनभित्रै आयोगका बैठकका निर्णय सार्वजनिक गरिने उहाँको भनाइ छ । प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा. डा. निरेश थापाले घर/आँगनमा डाक्टर बन्ने कर्णालीका मेधावी छात्रछात्राको सपना पूरा भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘कर्णालीलाई मेडिकल हब बनाउने ढोका खुलेको छ । प्रतिष्ठानमा एमबीबीएस र एमडी कार्यक्रम सञ्चालनले गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुनिश्चित गर्न थप कोशेढुङ्गाको काम गर्नेछ ।’ 

प्रतिष्ठानमा चिकित्सा शिक्षाको स्नातकोत्तर तहको अध्यापन सुरुवात भइसकेको छ । प्रतिष्ठानमा स्नातकोत्तर तहमा भक्तपुरका डा. रहिस कोजु, काठमाण्डाैका डा. प्रशंसा ताम्राकार र कपिलवस्तुका डा. वेदकुमार चौधरी जनरल ‘एमडी इन जनरल प्राक्टिस तथा इमरजेन्सी मेडिसिन’ विषयमा अध्ययनरत हुनुहुन्छ । 

यसैगरी दार्चुला (अहिले धनगढी) निवासी डा. ललितसिंह धामी एनेस्थेसिया र बारा कलैयाका मुन्ना केशरी पेडियाट्रिक्समा स्नातकोत्तर तहमा अध्ययनरत हुनुहुन्छ । शिक्षाध्यक्ष प्रा. डा. थापाले कर्णालीको समग्र स्वास्थ्य सुधारमा बहुप्रतिक्षित एमबीबीएस कार्यक्रमले सहयोग गर्ने जनाउँदै यसका लागि सरकारलाई धन्यवाद दिनुभयो । 

‘स्नातक तहको डाक्टरी पढाइ कर्णालीको विकासको कोशेढुङ्गा हो’, उहाँले भन्नुभयो, ‘अब हामी अब्बल चिकित्सक उत्पादनमा हाम्रो ध्यान जानेछ ।’

विशेषगरी ती दुवै शैक्षिक कार्यक्रम प्रतिष्ठानमा सञ्चालनका लागि आवश्यक पाठ्यक्रम, भौतिक पूर्वाधार, जुम्ला अस्पतालको स्तरोन्नति, उपकरण थप , दक्ष जनशक्ति (शिक्षक) को व्यवस्थापनमा प्रतिष्ठानका पूर्वउपकुलपति प्रा. डा. राजेन्द्रराज बाग्लेको अथक योगदान थियो । 

उहाँले भन्नुभयो, ‘कर्णालीको स्वास्थ्य सुधारमा नयाँ युगको सुरुवात भएको छ । अब उत्कृष्ठ अध्यापनमा जोड दिनुपर्छ ।’  

एमबीबीएस कार्यक्रम सुरु हुने भएपछि ‘कर्णालीमा आऊ, डाक्टर बनेर जाऊ’ भन्ने कर्णालीवासीको सपना अब पूरा हुने निश्चित भएको कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताउनुभयो । 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?