दार्चुला । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकको तयारी गर्नुभएको छ । यसअघि जेठ २३ मा गर्नुभएको ६ बुँदे एकता आव्हानमा उहाँले २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर पार्टी क्रियाशील गराउने प्रतिवद्धता जनाउनुभएको थियो ।
सो आव्हानलाई असन्तुष्ट खनाल–नेपाल पक्षले विश्वास गर्न नसकेपछि सो आव्हानलाई थप प्रष्ट पार्दै जेठ २ को पार्टी अवस्था र सोही हैसियतमा स्थायी कमिटी बैठक बोलाउने तयारी अध्यक्ष ओलीले गर्नुभएको हो । पार्टीको आन्तरिक एकता कायम गर्ने उद्देश्यसाथ दोस्रो पुस्ताका नेताहरु सक्रिय बनेपछि स्थायी कमिटी बैठकसम्म पुग्ने वातावरण तयार हुनलागेको नेताहरुको बुझाई छ ।
एमाले प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार दुई पक्षीय छलफलले गति लिएको छ, औपचारिक तथा अनौपचारिक छलफल जारी रहेकाले स्थायी कमिटीको बैठकसम्म पुग्ने वातावरण निर्माण भइरहेको छ । ”छलफल सकारात्मक ढङ्गले अघि बढेको छ, बैठक बोलाउने पहल पनि भइरहेको छ तर टुङ्गो लागिसकेको छैन” प्रवक्ता ज्ञवालीले भन्नुभयो, “पार्टी एकतालाई जोगाउन हदैसम्मको प्रयास गरिरहेका छौं, केही समयपछि सकारात्मक परिणाम आउला भन्ने विश्वास छ ।”
पार्टी नेतृत्व तहमा विश्वासको वातावरण अझै नबने पनि दोस्रो तहका नेताहरु नियमित संवादमा रहेको बताउँदै आएका छन । प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशमा देखिएको पार्टी एकताको सन्देशले नेतृत्व तहलाई दवाव पुग्ने विश्वास दोस्रो पुस्ताका नेताहरुले लिएका छन् । त्यही कारणले प्रदेश सरकारमा सरकारका नीति तथा कार्यक्रमलाई पारित गर्न एमाले एकता प्रदर्शन भएको छ । प्रदेश सरकारको बजेट पारितमा समेत सोही एकता प्रदर्शन गर्ने तयारी भएको नेताहरुको प्रतिक्रिया छ ।
प्रधानमन्त्री ओलीले जेठ २ को हैसियतमा पार्टी स्थायी कमिटी बैठक बोलाउने तयारी गरिरहनुभएका बेला असन्तुष्ट खनाल–नेपाल पक्षका नेताहरुले भने पार्टीले गरेको ११ जना नेताको कारवाही फुकुवाको माग राखेका छन् । यसअघि जेठ १० गतेको एमाले बैठकले ११ जना खनाल–नेपालसहितका नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारवाहीको निर्णय गरेको थियो । जेठ २३ मा पार्टी एकताको ६ बुँदे आव्हानमा प्रधानमन्त्री ओलीले बुँदा नम्बर ५ मा कारवाही फुकुवाको संकेत गर्नुभएको थियो । एकताका लागि खनाल–नेपाल पक्ष तयार भएमा त्यसमा पुनरविचार हुने उहाँको भनाई थियो ।
असन्तुष्ट नेपाल निकट नेताहरुले भने स्थायी कमिटी बैठकको पहलबारे आफूहरुलाई कुनै जानकारी प्राप्त भइनसकेको जनाएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




