महोत्तरी । प्रदेश २ सरकारले आउँदाे आर्थिक वर्षका लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले मङ्गलवार प्रदेश सभामा आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट प्रस्तुत गर्नुभएकाे हाे ।
बजेटमा चालुतर्फ १५ अर्ब ६३ करोड ४७ लाख र पुँजीगततर्फ १८ अर्ब करोड पाँच करोड ८० लाख ८३ हजार रुपैयाँ छुट्याइएको मन्त्री यादवले बताउनुभयाे । यस्तै वित्तीय व्यवस्थापनतर्फ १० करोड रुपैयाँ छुट्याइएको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३३ अर्ब ५६ करोड नौ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
सङ्घीय सरकारबाट सामान्यीकरण सहितका अनुदानबाट १३ अर्ब ९० करोड ३४ लाख, राजस्व बाँडफाँडबाट नौ अर्ब ५८ लाख, चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने ६ अर्ब २५ करोड र अपुग रकम आन्तरिक ऋण परिचालन गर्ने गरी ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँकाे बजेट प्रस्तुत गरिएकाे हाे ।
आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सार्वजनिक गर्नुभएको बजेटमा कोरोना महामारी रोकथामका लागि अक्सिजन सिलिन्डर, रेम्डेसिभिर, कोरोना परीक्षण गर्ने किटलगायत स्वास्थ्य सामग्री खरिदका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटमा प्रादेशिक अस्पताल जनकपुरधामलाई उपकरण खरिद गर्न १९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




