काठमाण्डाै । वर्षा कम भएपछि सिन्धुपाल्चोकका बाढी पीडितलाई थोरै भए पनि राहत भएको छ । नदीमा पानीको बहाव कम भएसँगै उद्धार र राहत टोलीलाई पनि सजिलो भएको छ । पानी पर्न रोकिएपछि नेपाली सेनाको एउटा हेलिकप्टरले हेलम्बुमा खाद्यान्नसहित राहत सामग्री ओसार्न थालेको छ ।
हेलम्बुमा हिजो राहत पुर्याउन सकिएको थिएन । बाढीबाट विस्थापितहरु विद्यालय र सामुदायिक भवनमा बसेका छन् । आज बिहान काठमाण्डौबाट सेनाको हेलिकप्टर गएपछि मेलम्चीमा राखिएको राहतका सामग्री हेलम्बुमा पुर्याइएको हो । ‘अहिले हेलकप्टरमार्फत दुई पटक हेलम्बुमा राहत पुर्यायौँ, आज दिनभरि पनि आवश्यकता अनुसार त्यहाँ उद्धार तथा राहतको काम हुनेछ’ उद्धारमा खटिएका सेनाका निर्मल श्रेष्ठले भन्नुभयो ।
बाढीपछि हेलम्बु र मेलम्चीमा बिजुलीको आपूर्ति ठप्प भएको छ । बत्ती नहुँदा सञ्चार सम्पर्क विच्छेद भएको छ । एनसेल नम्बरमा फोन लागे पनि नेपाल टेलिकमको सेवा बन्द छ । सञ्चार सम्पर्क विच्छेद हुँदा बाढीबाट भएको क्षतिबारे पूर्ण जानकारी आउन नसकेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
मङ्गलवार साँझ हेलम्बु गाउँपालिका-१ मा रहेको मेलम्ची खानेपानीको मुख्य हेडबक्समाथि पहिरो गइ नदी थुनिएर बाढी सुरु भएको थियो । बाढीले सुरुमा हेलम्बुको तिम्बु बजार बगाउन सुरु गरेको थियो । त्यस्तै पाँचपोखरी गाउँपालिका-३ को भोताङको लार्केबाट पनि त्यहीबेला बाढीको बहाव सुरु भएको र दुवै खोला मेलम्चीमा मिसिएर ठूलो क्षति हुनपुगेको स्थानीय बासिन्दाले बताएका छन् । मेलम्ची र इन्द्रावतीबाट सुरु भएको बाढीले मेलम्ची–हेलम्बु र मेलम्ची–भोताङ दुवै सडक सञ्जाल सम्पर्क विच्छेद भएको छ ।
बाढीका कारण मेलम्ची बजार बगरमा परिणत गरेको छ । सडक, पुल, भवन, होटल, रिसोर्ट, खेत, फार्महरू सबै बगरमा परिणत भएका छन् । हेलम्बु गाउँपालिकाको तिम्बु बजार, चालिसे, चनौटे, ग्याल्थुम र मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजारका सयौँ घर बाढीले बगाएको छ । बाढी पहिरोका कारण सिन्धुपाल्चोक र मनाङमा सबैभन्दा धेरै असर परेको छ ।
तस्बिर : रासस
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया