नेपाली काँग्रेस १४औँ महाधिवेशन, मतदाता विवाद टुङ्गो नलाग्दै नेतृत्वको दाैडधुप

काठमाडौं । नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि प्रतिस्पर्धाको आन्तरिक गृहकार्यमा तीव्रता आउन थालेको छ । क्रियाशील सदस्यको विवाद व्यवस्थापन नहुँदै आन्तरिक गृहकार्यमा तीव्रता आउन थालेको हो ।

आफूलाई ‘वेटिङ’ सभापतिका रूपमा दाबी गर्दै आउनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनलाई लक्षित गरी अनौपचारिक छलफल अगाडि बढाउनुभएको छ । त्यसै क्रममा पार्टीका संस्थापक बीपी कोइरालाका सुपुत्र शशाङ्क कोइराला, सर्वोच्च नेता गणेशमान सिंहका सुपुत्र प्रकाशमान सिंह र गान्धीवादी नेता महेन्द्रनारायण निधिका सुपुत्र विमलेन्द्र निधि सोमबार एक ठाउँ बसेर खानपान गरेपछि महाधिवेशनको तरङ्गले झन नयाँ रूप लिएको छ ।

महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक भएलगत्तै सभापति देउवाले आफूलाई अर्को कार्यकालका लागि पनि सभापति बन्न सहयोग गर्न केन्द्रीय सदस्यलाई आग्रह गरिरहनुभएको छ । यस क्रममा सोमबार देउवाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गर्नुभएको थियो । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका आफू निकट केन्द्रीय सदस्यसँग छलफल गरिसक्नुभएका सभापति देउवाले अब पार्टीका पूर्वपदाधिकारी, पदाधिकारीलगायतसँग उम्मेदवारीका विषयमा परामर्श गर्ने कार्यक्रम रहेको उहाँ निकट स्रोतले बताएको छ ।

सभापति शेरबहादुर देउवाले दोस्रो कार्यकालका लागि सभापति बन्न आफू निकटका केन्द्रीय सदस्यसँग पहिलो चरणको छलफल पूरा गरेसँगै अरू नेताहरूबीच परामर्शले गति लिएको छ । मतदाता तयार नहुँदै थालिएको गृहकार्यले असहज परिस्थिति निम्तने खतरासमेत रहेको कतिपयको भनाइ छ ।

१३औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाका मुख्य प्रतिस्पर्धी वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी नेतृत्वमा आउन आफ्नो सक्रियता बढाउनुभएको छ । हाल गृहजिल्ला तनहुँमा रहनुभएका नेता पौडेलले आफूलाई ‘वेटिङ सभापति’का रूपमा प्रस्तुत गरेर महाधिवेशनको तयारीमा जुट्नुभएको उहाँ निकट काँग्रेसका नेता तथा काभ्रेका जिल्ला सभापति मधु आचार्यले जानकारी दिनुभयो ।

नेताहरूलाई आफ्नो नेतृत्वको हतारो लागे पनि महाधिवेशनका लागि कामको पहाडै बाँकी छ । पार्टीमा क्रियाशील सदस्यता विवादको किनारा लगाउन आफूहरू दिनरात जुटेको सदस्यता छानबिन समितिका सदस्य एवं केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिनुभयो । समितिले आफ्नो जिम्मेवारी पूरा गरेर छिट्टै सभापति देउवालाई अन्तिम प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।

काँग्रेसको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ सम्म काठमाडौँमा गर्ने निर्णय पार्टीले गरिसकेको छ । पार्टी विधान र संवैधानिक हिसाबले पनि काँग्रेसको १४औँ महाधिवेशन आगामी भदौभित्र सम्पन्न गर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?