काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई आफ्नो गाडीमा लिफ्ट दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई सचेत गराउनुभएको छ ।
जातीय विभेदको अन्त्यका लागि सरकारले नै ऐन नियम बनाउने अनि सरकारकै मन्त्रीले त्यसको कार्यान्वयन गराउनुको सट्टा विभेदमा संलग्नलाई संरक्षण दिने काम भएको भन्दै मन्त्री र सरकारको चौतर्फी विरोध भइरहेका बेला प्रधानमन्त्रीले सम्बन्धित मन्त्रीलाई अबदेखि त्यस्तो गल्ती नगर्न सचेत गराउनुभएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले मङ्गलवार मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूले जातीय विभेद गरेको आरोप लागेकी सरस्वती प्रधानलाई छुटाउन मन्त्री स्वयम् प्रहरी कार्यालय पुगेको र आफ्नै गाडीमा चढाएर लगेको प्रसङ्ग उल्लेख गर्दै कानुन कार्यान्वयनमा सन्देह जनाएपछि मन्त्री श्रेष्ठले त्यसबारे प्रधानमन्त्रीले नै सम्बन्धित मन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभएको हो ।
उहाँले मन्त्रीको त्यसप्रकारको कार्यलाई दुर्भाग्यपूर्ण भनी टिप्पणी गर्नुभयो । मन्त्री श्रेष्ठले भन्नुभयो, ‘गाडीमा चढाएर लगे । यो दुर्भाग्य कुरा हो । राम्रो काम होइन । हाम्रो सम्माननीय प्रधानमन्त्रीले ९हाँस्दै० अब मैले पत्रकार साथीलाई भन्ने कि नभन्ने रु तर भन्नै पर्छ हिजो पनि सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूलाई ध्यानाकर्षण गर्नुभएको छ । मन्त्रीज्यू आवेशमा आएर यस्तो काम नगर्नुहोस् है । तपाईँले गर्नुभएको काम ठिक भएन भन्नुभएको छ है । यसमा प्रधानमन्त्रीको ध्यानाकर्षण भएको छ ।’
सञ्चारकर्मी रूपा सुनारलाई दलित भएका कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाण्डौ बबरमहलकी घरभेटी सरस्वती प्रधानलाई पक्राउ गरेको थियो । त्यसको तीन दिनपछि छुटेकी उनलाई मन्त्री श्रेष्ठले आफ्नै गाडीमा लिफ्ट दिनुभएको थियो । यो विषयको सर्वत्र आलोचना हुँदै आएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया