दार्चुला । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भाडामा लिएको ४० बिघा जग्गामा धान रोप्न शुरु गरेको छ । राष्ट्रिय आवास कम्पनीको स्वामित्वमा कञ्चनपुरको पुनर्वास नगरपालिका–५ आइबीआरडीमा वर्षौंदेखि बाँझो रहेको जग्गा भाडामा लिएर मन्त्रालयले धान रोपाइँ गरेको हो ।
मन्त्रालय मातहतको कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रले राष्ट्रिय आवास कम्पनीसँग गत मंसिरमा ७४ बिघा जग्गा भाडामा लिएको थियो । जसमध्ये ४० बिघामा रोपाइँ गर्ने प्रदेश सरकारको तयारी छ ।
कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रका प्रमुख टीकाराम थापाले भाडामा लिएको जग्गामध्ये १४ बिघामा धान रोपिसकेको जानकारी दिए । ‘वर्षौंदेखि बाँझो रहेको जग्गाको उपभोग गरेर कृषि अनुसन्धान, प्रसार र शिक्षा अध्ययन केन्द्रका रुपमा विकास गर्ने सरकारको उद्देश्य छ,’ प्रमुख थापाले भन्नुभयो।
यहाँ उत्पादन हुने धानलाई बीउका रुपमा बिक्री गर्ने योजना प्रदेश सरकारले बनाएको छ । केन्द्रले प्रतिबिघा मासिक २० हजार रुपैयाँ भाडा तिर्ने गरी जग्गा लिजमा लिएको हो ।
७४ बिघा घाडामा लिए पनि अतिक्रमणका कारण सबै जग्गा प्राप्त नभएको कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रले जनाएको छ । भाडामा लिएको जग्गामध्ये यसअघि ६ बिघामा गहुँ र ५ बिघामा घाँस खेती गरिएको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया