काठमाडाैं । विगत केही दिन यता सप्तकोशी नदीको बहावमा उतार चढावको आइरहेको छ । पूर्वी पहाडी भेगमा निरन्तर भइरहेको वर्षाले सप्तकोशीको जलस्तर बढिरहेको हो ।
सामान्यतया नदीको बहावमा ५० देखि ७० हजार क्यूसेक प्रतिसेकेण्ड पानी रहने कोशीको बहाव पूर्वी पहाडी भेगमा निरन्तरको वर्षासँगै बढ्दो क्रममा छ । आज साँझको मापन अनुसार कोशी ब्यारेज भएर १ लाख ५५ हजार ९ सय ७५ क्यूसेक पानी बगिरहेको छ । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार १ लाख ५५ हजार ९ सय ७५ क्यूसेक प्रतिसेकेण्ड बहाव मापन हुँदा ब्यारेजका २४ वटा ढोका खोलिएका छन् ।
कोशीको पछिल्लो मापन अनुसार नदीको वहावमा निरन्तर वृद्धि भैरहेको छ । सुनसरी जिल्ला प्रशासनले सप्तकोशी नदीको जलस्तरमा घटबढको क्रम जारी रहेपनि अहिलेसम्म तटीय क्षेत्रमा भने कुनै पनि खतरा नरहेको बताएको छ ।
प्रशासनले सबै तटबन्ध र स्पर सुरक्षित रहेको र नियमित अनुगमन समेत जारी रहेको बताएको छ ।
निरन्तर वर्षा भइरहेको हुँदा नदीको बहाव जुनकुनै बेला बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन भने सूचित गर्दै आएको सुनसरी प्रशासनले जनाएको छ ।





प्रतिक्रिया