दार्चुला । सोमबार रातीको वर्षाका कारण बाढी र पहिरो जादा महाकाली लोकमार्ग अवरुद्ध भएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ६ ग्वानीमा खोला बढ्नुका साथै पहिरो गएपछि सडक अवरुद्ध बनेको रेडियो लोकदर्पण समाचारदाता प्रकाशसिंह धामीले जानकारी दिनुभयो ।
सडक अवरुद्ध बनेसंगै गोकुलेश्वरबाट खलंगाका लागि छुटेका जीपहरु र तराइबाट दार्चुलाका लागि आएका बसहरु रोकिएका छन् । गोकुलेश्वरबाट दार्चुलातर्फ जादै गरेका तीन वटा बस र छ वटा जीप सडकमै रोकिएको धामीले बताउनुभयो ।
सडक अवरुद्ध हुँदा झण्डै ५ सय यात्रु बाटोमै रोकिएका छन् । रातीदेखि नै सडक अवरुद्ध बनेको भएपनि अहिलेसम्म सडक खुलाउन कुनै प्रयास नभएको यात्रुहरुको गुनासो छ ।
बर्षातको समयमा महाकाली लोकमार्ग वर्षेनी ठाउँठाउँमा अवरुद्ध हुँदै आएको छ । पछिल्लो समय शाखा सडकहरुको कारण समेत मुख्य सडकहरु अवरुद्ध हुने गरेका छन् ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया