दार्चुला । दार्चुलामा कुपोषित बालबालिकाको संख्यामा बृद्धि भएको छ । जनसांख्यिक स्वास्थ्य सर्वेक्षणको तथ्यांक अनुसार पाँच वर्ष मुनिका कुपोषित बालबालिकाको संख्या बढ्दै गएको हो ।
सोमबार सार्वजनिक गरिएको एक स्वास्थ्य सर्वेक्षणका अनुसार दार्चुलामा कुपोषित बालबालिकाको संख्यामा बृद्धि भएको पाइएको छ ।
स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लामा हालसम्म एक हजार ३२९ जना बालबालिकाहरु कुपोषित रहेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार महाकाली नगरपालिकामा एक हजार ७७४ जना बालबालिका मध्ये १७५ जना, शैल्यशिखर नगरपालिकामा दुई हजार १२० जना बालबालिका मध्ये २१६ जना, नौगाड गाउँपालिकामा दुई हजार ५२ जना बालबालिकामध्ये २०९ जना, अपिहिमाल गाउँपालिकामा ६८० जना बालबालिका मध्ये ६९ जना बालबालिका कुपोषित रहेका छन् ।
यस्तै मार्मा गाउँपालिकामा एक हजार ७२९ जना बालबालिका मध्ये एक सय ७६ जना, मालिकार्जुन गाउँपालिकामा एक हजार ४४१ जनामध्ये १४७ जना, लेकम गाउँपालिकामा एक हजार ४०९जना बालबालिकामध्ये १४३ जना बालबालिका कुपोषित रहेका छन् । यस्तै व्यासँ गाउँपालिकामा ९०३ जना बालबालिका मध्ये ९२ जना र दुहुँ गाउँपालिकामा एक हजार बालबालिका मध्ये १०२ जना बालबालिका कुपोषित रहेका छन ।
स्वास्थ्यकर्मीहरुका अनुसार गरिबि, अशिक्षा लगायत कारणले कुपोषित बालबालिकाको संख्या बढेको छ । ग्रामीण क्षेत्रका नागरिक बच्चाको खानपानमा ध्यान नदिने, सानै उमेरमा बच्चा जन्माउने, गर्भवती हुँदा पोषिलो खानेकुरा नखाने, पोषिलो, सफा, स्वस्थ र सन्तुलित खानेकुरा आमा र बच्चालाई नखुवाउने, घरको भन्दा बजारको खानेकुरा बढी प्रयोगमा ल्याउने लगायत कारणले बालबालिकाहरू कडा कुपोषणको जोखिममा परेको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो ।



विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया