दार्चुला । कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ नेपाल ल्याउनका लागि आजदेखि तीन उडान हुने भएको छ।
नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजबाट आजदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले चीनबाट भेरोसेल खोप ल्याउनका लागि जहाज त्यसतर्फ जाने बताउनुभयो ।
सरकारले सरकार–सरकार (जिटुजी) मार्फत चीनबाट खोप ल्याउन लागेको हो। उनकाअनुसार आज साँझ निगमको विमान खोप लिनका लागि चीन जाँदै छ। जहाजले असार २५ गते खोप ल्याउने छ।
यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ।
“आजदेखि तीनपटक जहाज खोप लिनका लागि चीन जाने छ। परिणाम ठूलो आउँछ तर कति आउँछ भन्ने एकिन छैन,’ उहाँले भन्नुभयो ।
उहाँले पहिलोपटक खोप ल्याइसकेपछि मात्र कति मात्रा खोप नेपाल आएको एकिन थाहा हुने बताउनुभयो । चीनको सिनोफार्म कम्पनीबाट सरकारले भेरोसेल खोप खरिद गर्न लागेको हो।
खोप नेपाल आइसकेपछि ६० वर्ष मुनि उमेर समूहका मानिसलाई प्रथामिकताका आधारमा लगाउने उहाँको भनाइ रहेको छ।
यस्तै सरकारलाई कोभ्याक्स सुविधामार्फत समेत छिट्टै खोप ल्याउने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा। पौडेलले ६० लाख जनसङ्ख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिवद्धता अनुसार बाँकी खोप दिने तयारी गरिरहेको जानकारी दिनुभयो ।
यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार मात्र खोप आएको थियो। नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ। नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ।
अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७ जनालाई पहिलो मात्राको खोप प्रदान गरिएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया