दार्चुला । जिल्ला हुलाक कार्यालय दार्चुलामा तोडफोड र तालाबन्दी गरिएको छ । हुलाक कार्यालयले हुलाकी र हल्कारा पदमा गरेको नियुक्ति खारेज गर्न माग गर्दै नेपाली काँग्रेसका भातृ संगठनहरुले कार्यालयमा तोडफोड गरेको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालयले आवश्यक छानविन गरिरहेका बेला सोमवार (आज) नेपाल विद्यार्थी संघले जिल्ला हुलाक कार्यालयमा तालाबन्दी गर्ने प्रयास गरेको थियो । नेबि संघलाई स्थानीय प्रशासनले ताला लगाउन नदिएपछि दोस्रो पटक नेपाली कांग्रेसका जिल्ला सभापति ललितसिंह बोहरा लगायत भातृ सगठन नेबिसंघ, तरुणदलको टोलीले दिउँसो कार्यालयमा तोडफोड गर्नुका साथै तालबन्दी गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
बिहान आएकाहरुलाई सम्झाई बुझाई गरी पठाएपनि दिउँसो कांग्रेस सभापति सहितको टोलीले कार्यालयमा तालाबन्दी गरेको प्रहरीले बताएको छ । प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार नेपाली कांग्रेसको समूहले हुलाक कार्यालयमा पाँच वटा प्लाष्टिकका कुर्सीहरु तोडफोड गरेको छ । सुरक्षाकर्मीहरुकै अगाडी कांग्रेस कार्यकर्ताहरुले हुलाक कार्यालयका कुर्सीहरु तोडफोड गरेपनि तोडफोड गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा नलिएको हुलाकका एक कर्मचारीले बताउनुभयो ।
तालाबन्दी तथा तोडफोडको विषयमा प्रमुख जिल्ला अधिकारी जोशीले भने हुलाक सेवा अत्यावश्यक सेवाभित्र पर्ने भएकाले कसैले पनि अबरुद्ध गर्न नहुने बताउनुभयो । अत्यावश्यक सेवा अबरुद्ध गर्नु कानुन विपरीतको काम भएको र कानुन विपरीतको काम गर्ने छुट कसैलाई नहुने उहाँको भनाई छ ।
जिल्ला हुलाकको नियुक्ति प्रक्रियाका सम्बन्धमा प्रशासन कार्यालय लगायत सरोकारवाला निकायले अनुसन्धान गरिरहेको सेवा अवरुद्ध गर्न नहुँने प्रमुख जिल्ला अधिकारी जोशीको भनाई छ ।
हुलाकी र हल्कारा नियुक्तिका समन्धमा जिल्ला हुलाक कार्यालयका प्रमुख पदमराज जोशीले भने नियुक्ति प्रक्रिया पुर्याएर ‘सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९५ अनुसार पदपूर्ति गरिएको’ बताउनुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया