देउवाले मन्त्रिमण्डल बनाउदै, सबै दललाई समेट्ने प्रयास

दार्चुला । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भोलि सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भएका छन् । सर्वोच्चको फैसला लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकपछि प्रतिक्रिया दिँदै नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले प्रारम्भमा सानो मन्त्रीमण्डल गठन गर्ने र दलहरुकोबीचमा सहमति र सहकार्यलाई अगाडि बढाउँदै लैजाने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

सोमबार विपक्षी गठबन्धनको बैठक बसिरहेका बेला शीतल निवासबाट भोलि मंगलबार सपथ ग्रहणका लागि खबर आएको काँग्रेस नेताहरुले बैठकमा जानकारी गराएका थिए । त्यसपछि नेताहरुले सरकार कस्तो बनाउने भन्नेबारे छलफल गरेका थिए ।

देउवाले आफ्नो नेतृत्वको मन्त्रिपरिषदमा सहभागी हुन नेकपा माओवादी केन्द्र, एमाले (माधव नेपाल समूह), जसपा (उपेन्द्र यादव समूह) र राष्ट्रिय जनमोर्चाका नेताहरुलाई आग्रह गर्नुभएको छ । तर जसपा साउन ७ पछि मात्रै सरकारमा जाने मनस्थितिमा देखिएको छ भने जनमोर्चाले निर्णय गरिसकेको छैन् । एमाले देउवा नेतृत्वको सरकारमा सहभागि हुने सम्भावना नरहेको नेताहरुले बताएका छन् ।

काँग्रेस नेता खाँणले बैठकमा संविधान, लोकतन्त्र र संसद्को रक्षाका लागि सर्वोच्चले गरेको आदेश ऐतिहासिक भएको भन्दै स्वागत गरिएको र यसमा सहयोग पुर्‍याउनेलाई धन्यवाद पनि दिएको बताउनुभयो । त्यसैगरी पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने र सबै दलहरू मिलेर अघि बढ्ने बारे छलफल भएको बताउनुभयो ।

‘सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभाको पुनर्वहाली गरेको काग्रेश लगायत विपक्षी गठबन्धनको ठहर छ । शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश पनि जारी गरेको छ । सर्वोच्च अदालतले ऐतिहासिक र महत्त्वपूर्ण फैसला गरेको गठबन्धन आवद्ध नेताहरुको प्रतिक्रिया छ ।

विपक्षी गठबन्धनले अदालतको निर्णय स्वागतयोग्य आएको भन्दै सर्बोच्चलाई धन्यबाद समेत दिएका छन् । यसले संविधानको रक्षा, लोकतान्त्रिक मूल्य मान्यता, र राष्ट्रियता र नागरिकको हक अधिकारलाई पनि यसले सुदृढ गराउने काम गरेको छ । ट्र्याक बाहिर गएको लोकतान्त्रिक मूल्यमान्यता माथि प्रहार भएकोमा अहिले ट्र्याकमा आएको नेताहरुको भनाई छ ।

सरकार निर्माण गर्ने कुरामा, प्रारम्भमा सानो मन्त्रिमण्डल गठन गर्ने र दलहरुकोबीचमा सहमति र सहकार्यलाई अगाडि बढाउँदै लैजाने र मिलेरै सरकार बनाउनुपर्ने र मिलेरै सरकार चलाउनुपर्ने अहिलेको सान्दर्भिकताका बारेमा छलफल भएको छ । सरकारमा जाने हकमा सानो आकारको मन्त्रिमण्डल बन्छ र भोलि बिहान फेरि पार्टीका शीर्ष नेताहरू बैठक बस्नुहुनेछ ।’

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले बैठकमा दलीय प्रणालीका आधारमा सहमति र सहकार्य गर्दै संविधानले मार्गचित्र गरे अनुसार अगाडि बढ्ने बारेमा छलफल भएको बताउनुभयो । लोकतन्त्रको रक्षा, संविधानको रक्षा, गणतन्त्र र नागरिक अधिकारको रक्षाका लागि आएको फैसलाको स्वागत गर्दै सबैलाई आभार प्रकट गरिएको बताउनुभयो । सरकार गठन एकलौटी ढङ्गले नचलाइ सबै राजनीतिक दलहरूसँग सल्लाह गरेर फराकिलो ढङ्गले सरकार बनाई एकताबद्ध भएर अगाडि बढ्नुपर्छ भन्नेमा नै सबैले जोड दिएको बताउनुभयो ।

नेता नेपाल पक्षका नेता रघुजी पन्तले सर्वोच्चको आदेश सँगै नयाँ परिस्थिति सृजना भएको भन्दै परिवर्तित अवस्था बुझ्न नेताहरूलाई आग्रह गरेको जानकारी दिनुभयो । एकलौटी र एकपक्षीय ढङ्गले चल्ने कुराको सधैँ विपक्षमा रहँदै आएको भन्दै सबैलाई समेटेर अगाडि बढ्न र एकलौटी ढङ्गले नचल्न आग्रह गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एकलौटी ढङ्गले नचल्नुहोस् । हाम्रो पार्टी नेकपा एमाले लगायत सबै राजनीतिक दलहरूसँग सरसल्लाह गरेर, उनीहरूलाई पनि साथमा लिएर अलि फराकिलो ढङ्गले सरकार बनाउने प्रयत्न गर्नुहोस् ।

लोकतन्त्र, गणतन्त्र संविधान र सङ्घीयताको रक्षाका लागि दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता अहिले पनि छ । गठबन्धनमा हाम्रो निरन्तरता नरहन सक्छ । पहिला पार्टीलाई एकताबद्ध बनाउँछौ र त्यसपछि सिङ्गो मुलुकको राजनीतिलाई। गठबन्धनलाई पार्टीले अलपत्र पारेको छैन । हस्ताक्षर फिर्ता नलिने कुरा सर्वोच्च अदालतको फैसला नहुन्जेल सम्मका लागि मात्रै हो । अब पार्टीले जे भन्छ त्यही गर्छौँ । सिङ्गो एमालेलाई एकताबद्ध बनाउने हाम्रो प्रयास हो । ”

जनता समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराईले सर्वोच्चले प्रतिगमनकारी हर्कतलाई रोक्ने र देशलाई सही बाटोमा ल्याउने काम गरेको बताउनुभयो । उहाँले देउवाको नेतृत्वमा सरकार बनाउन लागि पर्ने र गठबन्धनको सरकारलाई प्रभावकारी कसरी बनाउने भन्नेबारेमा पनि तयारी गरेर सहमति कायम गरि अघि बढ्ने बारे गठबन्धनमा छलफल भएको बताउनुभयो ।

विपक्षी गठबन्धनले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक र महत्त्वपूर्ण फैसला भएको भन्दै सर्वोच्च अदालतलाई धन्यवाद दिएको छ । कोटेश्वर​मा बसेको ५ दलीय विपक्षी गठबन्धनको बैठकले लोकतन्त्र, संविधान र संसद्को रक्षा गर्ने सवालमा अदालतको फैसला ऐतिहासिक र महत्त्वपूर्ण भएको भन्दै स्वागत गरेको छ । फैसलाले संविधानको रक्षा गरेकाले अदालतको ऐतिहासिक निर्णय सबै नागरिकको विजय भएको निष्कर्ष पनि गठबन्धनले निकालेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?