दार्चुला । श्रावण महिना शुरुभएसंगै दार्चुलाका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा पूजाआजा गर्नेहरुको संख्या बढ्न थालेको छ । दार्चुला सहित सुदूरपश्चिमका पहाडी जिल्लामा साउन महिनालाई बत्ती बाल्ने महिनाको रुपमा लिने गरिएको छ ।
साउन महिनाभरी शक्तिपीठ तथा मन्दिरहरुमा पुगेर बत्ती बाल्ने, भजन किर्तन गर्ने लगायतका धार्मीक गतिविधिहरु गर्ने चलन रही आएको छ । साउन महिनामा मन्दिरहरुमा पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएकाले श्रावण महिनामा मन्दिरहरुमा भक्तजनहरु जाने गरेका छन ।
दार्चुलाको मालिकार्जुन मन्दिर लगायत दर्जनौँ शक्तिपिठहरु, बैतडीमा सातबैनी भगवती र सातभाई केदार देवताका मन्दिर रहेकाले नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेका छन् । श्रावण महिनाभरी मन्दिरमा राती जाग्राम बस्ने र बत्ती बाल्ने चलन समेत रही आएको छ । जिल्लाबाट बसाइसरेकाहरु पनि मन्दिरमा पूजापाठ गर्नका लागि यो महिना जिल्ला भित्रिने गर्दछन् ।
असार सकिएर श्रावण अथवा साउन महिना शुरु भएको छ । यस महिनामा अत्यन्त वर्षा हुने भएकोले यसलाई पावस रितु पनि भनिन्छ । यसै महिनाका विभिन्न तिथीमा हरितालीका तिज, रक्षाबन्धन, नागपञ्चमी आदि थुप्रै महत्वपूर्ण चाडहरु पर्दछन् । यो भगवान शिवको महिना हो, यसै कारणले यस महिनाको हरेक सोमबार अविवाहित महिलाहरुले व्रत बस्ने र राम्रो वर पाउने भनि शिवको आराधना गर्ने चलन पनि रहि आएको छ ।
श्रावण महिनाबारे पौराणीक व्याख्या अनुसार यसै महिनामा समुन्द्र मन्थन भएको हो र त्यपछि हलाहल विष निस्केको उल्लेख छ । संसारलाई रक्षा गर्नकालागि भगवान शिव आफैले सो विषको सेवन गरेर हिमालय पर्वतमा गएर रहनुभएको उल्लेख छ । यसरी विष ग्रहण गरेर निलकण्ठ भएका भगवान शिव नेपालमा अवस्थित गोसाँईकुण्डमा गएर सुत्नुभएको र विषको असर कम गर्नुभएको उल्लेख छ । यसरी विषको प्रभावमा रहनुभएका शिवलाई यस महिना शिवलिङ्गमा जल तथा वेली पुष्प चढाएमा शिव प्रसन्न हुने मान्यता छ । शिवपुराणमा पनि आफ्नो जटामा साक्षात गङ्गा नदि लिएर हिँडेका भगवान शिव आँफै जल हुनुभएको उल्लेख गरिएको छ ।
यसै हिसाबले पनि यस महिना शिवलिङ्गमा जल चढाउन पहेंलो कपडा लगाएर हातमा जल अड्याउने लौरो स्वरुपको खर्पनझै बोकेर जलाशयबाट कठिन र खाली खुट्टा पदयात्रा गरेर जाने चलन छ । श्रावण संक्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्नेभएकाले यस दिन विशेषलाई दक्षिणायन समेत भनिन्छ ।
सूर्यले आजको दिन मिथुन राशिबाट कर्कट राशि परिवर्तन गर्दछन् । कर्कट संक्रान्तिलाई श्रावण संक्रान्ति या साउने संक्रान्ति पनि भनिन्छ । श्रावण महिना वैदिक सनातन हिन्दु धर्मावलम्बिहरुको पवित्र महिना हो र यस महिनाको हरेक सोमबारको विशेष महत्व रहिआएको छ । विशेषत्ः श्रावणको प्रत्येक सोमबार महिलाहरू हरियो चुरा, लुगा, पोते र हात अनि गोडामा मेहन्दीको बुट्टा लगाएर शिव मन्दिरहरुमा जल, भाङ्ग, धतूरो तथा बेली पुष्प समर्पणगरी सफलता, सु-स्वास्थ्य तथा योग्य वर पाउँ भनी व्रत बस्ने चलन रहि आएको छ ।
यो रंगीन महिनाको शुरुवात भनेकै कर्कट संक्रान्ति हो । हरियो रङ्गमा यस पर्वको विशेष अर्थ रहेको पाइन्छ । आफूले चाहेजस्तो जीवनसाथीको आकांक्षा र यसका अलावा परिवारजनमा सुख, शान्ती र कान्ती छाइरहोस् भनेर पनि रंगीन चुराहरु लाउने गरिन्छ ।
श्रावणसम्ममा बारीका मकैहरु पनि ठूलै घोघा भइसकेका हुन्छन्, श्रावणको झरिमा पोलेको या उसिनेको मकैको खाजा खानुको आनन्द नै बेग्लै हुने गरेको छ ।
श्रावण महिनामा सूर्य कर्कट राशीमा रहने भएकोले गर्मी अत्याधीक हुन्छ र साथै निरन्तर झरि पर्नेभएकाले मान्छेहरु आवत(जावत गर्दा पानीमा रुझ्नसक्ने संभावना हुन्छ । त्यसमाथी कृषी अनि कृषीकार्यको यस महिनामा पानीमा भिज्नु, माटोमा जोतिनु अनि हिलो उछिटिनु लगभग सामान्य झै हो । यसर्थ गर्मी र वर्षाको यो असरले बर्षाको महिनाहरुमा चर्म तथा छालासंग सम्बन्धित रोगहरु जस्तै लुतो, दाद, घमौरा या खटिराहरु आउनसक्ने संभावना अत्याधिक हुन्छ । साउने संक्रान्तिलाई यस परिपेक्षमा लुतो फाल्ने दिनका रुपमा पनि लिईन्छ ।
लुतो फाल्ने ठाउँ र संस्कृति अनुसार आआफ्नै खालका जनविश्वाश र चलन रहेको पाइन्छ ।
दार्चुला, बैतडी लगायत सुदूरपश्चिममा साउन महिना सुरु भएसंगै झ्याल ढोकाहरुमा काँडेदार रुखहरुको हाँगाँ झिझिरकाँडा राख्ने प्रचलन पनि छ ।
दार्चुला जिल्लाका विभिन्न स्थानमा असार मसान्तका दिन बेलुकी झ्याल ढोकाहरुमा भिझिरकाँडा राख्ने गरिन्छ भने कतिपय क्षेत्रमा साउन १ साउने संक्रान्तीका दिन राख्ने चलन छ । मैखोली लगायत केहि गाउँहरुमा भने झिझिरकाँडा राख्ने चलन छैन् ।
साउने संक्रान्ती संगै देवी–देवता शिव भगवानको बासस्थान मानिने कैलाश जाने भएकाले सुरक्षाका लागि स्थानियहरुले झ्याल ढोकामा झिझिरकाँडा राख्ने चलन रहेको बुढापाखाहरु बताउछन् । साउन महिना भरी देवी देवता कैलाश तिर हुने भएकोले घरभित्र राक्षसहरु नआउन भनेर झ्याल ढोकामा झिझिरकाँडा राख्ने परम्परा रहेको लेकमका कुन्ती लावडले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।






प्रतिक्रिया