दार्चुला । लामो समय देखि बन्द रहेका दार्चुलाका नेपाल-भारत जोड्ने तीन वटा सीमा पुलहरु खोलिन लागेका छन् ।
व्यास गाउँपालिकाको तिग्रम, महाकाली नगरपालिकाको दत्तु र मालिकार्जुन गाउँपालिकाको जोलजिविमा रहेका नेपाल भारत जोड्ने झोलुगें पुलहरु खुला गर्न लागिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।
सीमा पुल बन्द भएकाले मालिकार्जुन गाउँपालिकामा रहेका एक सय २० जना भारतीय पेन्सनरहरुलाई पेन्सन लिन समस्या भएकाले पुल खोल्न भन्दै मालिकार्जुन गाउँपालिकाले असार ३० गते जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरेको थियो ।
सीमा पुलबाट आवतजावत गर्नेहरुको अनिवार्य स्वास्थ्य परिक्षण गर्ने र पुल खोल्न सहजिकरण गरिदिन प्रशासनलाई पत्राचार गरिएको मालिकार्जुन गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको अनुरोधमा सीमा पुल खुला गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पत्राचार गरेको थियो । जोलजिवि पुलमा आवस्यक काम परेका नागरिकहरुका लागि प्रहरीको समन्वयमा हाल आवतजावत भइरहेकोमा भोलीबाट औपचारीक रुपमा आम नागरिकहरुका लागि पुल खुला गरिने प्रहरीले जनाएको छ ।
व्यास गाउँपालिकाले पनि तिग्रम पुल खुला गर्न प्रशासनलाई अनुरोध गरेको थियो । स्वास्थ्य मापदण्ड अपनाएर पुलहरु खुला गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुमति दिएकाले भोलीबाट तिग्रम, दत्तु र जोलजिवि गरी तीन वटा सीमापुलहरु नियमित रुपमा खुला गरिने प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।
यसअघि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सम्बन्धित स्थानीय तहले कोरोना परीक्षणको जिम्मा लिए सीमा पुल खोल्न सकिने निर्णय समेत गरेको थियो ।
लेकम गाउँपालिकाको वडा नम्बर ३ लालीमा रहेको लाली पुल खोल्नका लागि लेकम गाउँपालिकाबाट जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार भएको कुनै जानकारी प्राप्त नभएकाले लालीको पुल तत्काल खुल्ने सम्भावना नरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
कोरोना महाकारी नियन्त्रणका लागि बन्द गरिएका सीमा पुलहरु निषेधाज्ञा हटेसंगै खुला गरिन लागिएका हुन् । दार्चुलामा साउन १ गतेदेखि लागु हुने गरी निषेधाज्ञा समेत हटाइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया