दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा भूमि सम्बन्धि समस्या समाधान आयोगको पालिकास्तरिय गोष्ठी सम्पन्न भएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत भोजराज भट्टको अध्यक्षता एबं भूमि सम्बन्धि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यतामा विहिबार गोष्ठी सम्पन्न भएको हो ।
विगतमा भूमि सम्बन्धि समस्या समाधान आयोगले गरेका गतिविधि, नगरपालिकाले भूमिहिनका लागि गरेको कामको प्रगति र अगामी कार्ययोजनाबारे छलफल भएको छ । नगरपालिकाले विगतमा गरेको प्रगति र अगामी कार्ययोजनाबारे निमित्त प्रमुख प्रशासकिय अधिकृत भोजराज भट्टले प्रस्तुती राख्नुभएको थियो ।
नगरपालिका भित्रका सबै वडाका वडाअध्यक्ष र वडा सचिव लगायतको उपस्थितिमा आयोजित गोष्ठीमा फाराम भर्ने भराउने तरिका सम्बन्धि समेत जानकारी गराइएको भूमि सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाका खरिदार मनोरथ जोशीले रेडियो लोकदर्पणलाई जानकारी दिनुभयो ।
दार्चुलामा विगतको अभिलेख अनुसार १३० जना भूमिहिन दलित र सुकुम्बासी रहेको र ३६८ जना अव्यवस्थित बसोबासी रहेको आयोगले जनाएको छ । भूमिहिन दलित र सुकुम्बासी तथा अव्यवस्थित बसोबासी मध्ये विगतमा आयोगमार्फत केहिका जग्गाधनी प्रमाणपत्र बनेको, केहिको स्रेस्ता तयार भएको र केहिको बन्न बाकी रहेका छन् ।
भूमिहिन दलित सुकुम्बासीको तथ्याङक समेटेर आयोगको केन्द्रिय समितिको सहजिकरणमा प्रतिवेदन तयार पारेर प्रमाणीकरणका लागि स्थानीय तहलाई जिम्मा दिइने खरिदार जोशीले बताउनुभयो । फाराम भर्न छुट भएका भूमिहिन दलित सुकुम्बासीहरुको फाराम प्रतेक स्थानीय तहका सबै वडा कार्यालयमा साउन १ गतेदेखि भर्ने काम भइरहेकोले समयमै फाराम भर्न आयोगका जिल्ला अध्यक्ष रामदत्त जोशीले अनुरोध गर्नुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया