तुईन काट्ने एसएसबी विरुद्ध उजुरी, चौतर्फी जन-आक्रोश

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–२ को मालघाटमा महाकाली नदी माथी तुईन तरेर भारत तर्फ जाने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुईन काटीदिदाँ व्यासका स्थानीय जयसिह धामी महाकाली नदीमा खसेर बेपत्ता हुनुभएको छ ।

तुईन काट्ने एसएसबीहरु विरुद्ध वेपत्ता धामीका आफन्तले तुईन नजिकको क्षेत्रमा रहेको भारतको पिथौरागढ जिल्ला धार्चुला तहशिलको पागला प्रहरी थानामा उजुरी दिएका छन् । भारत स्वतन्त्र हुनुभन्दा पहिले देखि नेपाल भारतको क्षेत्रमा आवत जावतका लागि तुईनहरु लगाइदै आएको तथा नेपाल भारतका नागरिकहरुको आपसी सम्बन्धका कारण पनि यसरी सीमा क्षेत्रमा आवतजावत हुदै आइरहेको उजुरीमा भारतीय प्रहरीलाई जानकारी गराइएको छ । घटना भएपछि एसएसबीहरु भागेको तथा त्यस क्षेत्रमा रहेका नेपालीहरुलाई यसबारे कसैलाई नभन्न धम्क्याएको समेत उजुरीमा प्रहरीलाई जानकारी गराइएको छ ।

उक्त घटनाबारे मुचुल्का लिई प्राथमिक रिपोर्ट बनाउनका लागि पागला प्रहरीलाई स्थानीय बहादुर सिह धामी र जोगा सिह धामीले उजुरीपत्र दिएका छन् । घटनाको सत्यतथ्य छानबिन गरी दोषिलाई कारवाही गर्न आफन्तहरुले दार्चुला र भारत दुबैतर्फका प्रशासनलाई अनुरोध गरेका छन् । एसएसबीले तुईन काट्दा धामी नदीमा खसेको भन्दै तुईन काट्ने एसएसबी हरुलाई कारवाही हुनुपर्ने माग सहित व्यासका स्थानीयहरुले दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई ज्ञापन पत्र बुझाएका छन् ।

व्यास गाउँपालिका–२ मालका पाँच÷छ जना स्थानीयहरु शुक्रबार मालघाटमा महाकाली नदी माथि तुईन तरेर भारतको बाटो हुदै दार्चुला सदरमुकाम खलंगा बजार आउन लागेका थिए । दुई जना महाकाली नदीमा तुईन तरि भारतको सडकमा पुगिसकेका थिए । तुईनमा तर्ने पालो जयसिह धामीको थियो । धामी तर्ने बेला दुई जना भारतीय एसएसबी पुगेको तथा तुईनमा तर्दै गर्दा तार काटीदिदाँ तार सहित मान्छे नदीमा खसेको स्थानीयहरुको भनाई छ । अनिता धामी, कल्यानसिह धामी र विक्रमसिह रङकोलीले उक्त घटना प्रत्यक्ष देखेको प्रमुख जिल्ला अधिकारीलाई दिएको ज्ञापन पत्रमा उल्लेख छ । बाच्न पाउने मानिसको न्युनतम अधिकारलाई चुनौती दिदै तुईन काटेर ज्युदै मान्छे नदीमा बगाएको हुदाँ उक्त घटना गराउने भारतीय एसएबीहरुलाई कडा कारवाहीका लागि पहल गरिदिन आफन्तहरुले प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरेका छन् ।

महाकाली नदीमा तुईन तरेर भारत जादाँ नेपाली नागरिक महाकाली नदीमा बेपत्ता भएको घटनाबारे छानविन गर्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपलाई पत्राचार गर्नुभएको छ । इमेलबाट पिथौराढका जिल्ला अधिकारीलाई पत्राचार गरेका छौ, सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीले भन्नुभयो, बोधार्थमा पिथौरागढको धार्चुला तहशिलका उपजिल्ला अधिकारी अनिल कुमार शुक्लालाई पनि सम्बोधन गरेका छौ । नेपाल तर्फबाट पनि घटनाबारे छानविन भइरहेको उहाँको भनाई छ । हाल सम्म घटनाबारे सत्य तथ्य नखुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले बताउनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले गृहसचिवको नेतृत्वमा छानबिन समिति गठन गर्नुभएको हो । समितिमा गृह मन्त्रालयका प्रवक्ता, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी र दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारी सदस्य छन् । जतिसक्दो छिटो सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिइएको छ ।

भारतीय एसएसबीले डोरी चुँडालेको भन्ने कुराको आधिकारिक जानकारी नआएको प्रशासनको भनाइ छ । तुइन तर्दा तर्दै तुइन काट्ने भारतीय सीमा सुरक्षा बल एसएसबीका संलग्न व्यक्तीलाई कारबाहीको माग राख्दै व्यासका स्थानीयका साथै विभिन्न राजनीतिक दल र नागरिक सामाजका तर्फबाट आवाजहरु उठेका छन् । मानिसले बाच्न पाउने अन्तराष्ट्रिय मानव अधिकार, न्युनतम मानविय मूल्य मान्यता र नेपाल–भारत सीमा क्षेत्रमा चलिआएको व्यवहारिक सम्बन्ध जस्ता सामाजिक मुल्य मान्यतालाई चुनौती दिदै तुइन तरिरहेको अवस्थामा तुइन काटेर जिउदै मानिस नदीमा बगाएको हुँदा उक्त पाशविक घट्नामा संलग्न एसएसबीलाई कारबाही गर्न प्रशासनलाई स्थानीयले निवेदन दिएका छन् ।

उक्त घट्नालाई तोडमोड गरी घट्नाको सत्यतथ्य लुकाउन प्रत्यक्षदर्शीलाई नियन्त्रणमा राखिएको निबेदनमा उल्लखे गरिएको छ । बैदेशिक रोजगारीमा जानका लागि गाउँबाट काठमाण्डौँ हिडेका धामी घर नजिकै महाकालीमा बेपत्ता भएपछि परिवार शोकमा छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?